भागरथी हत्याकाण्ड: घटनाको चौतर्फी विरोध, कहाँ पुग्यो अनुसन्धान ? (भिडियो रिपोर्ट)

घटना : १७ वर्षीया युवतीको बलात्कारपछि हत्या ।
घटना भएको मिति : २०७७ माघ २१ गते बुधवार ।
घटनास्थल : दोगडाकेदार गाउँपालिका ७ चडेपानी, बैतडी ।

कन्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुग्न लाग्दा समेत अपराधी पत्ता लाग्न सकेको छैन । यता गत बुधवार बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीमा पनि उस्तै प्रकृतिको घटना भएको छ ।

सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा गत बुधवार बीच बाटोमै हराइन् । छोरी साँझसम्म नफर्किएपछि भागरथी भट्टकी आमालाई चिन्ता हुन थाल्यो । उनले भागरथीका साथीहरुलाई सोधपुछ गर्न थालिन् । साथीहरुले उनी छुट्टी भएपछि एक्लै स्कूलबाट घरतर्फ लागेको बताए । बेलुकासम्म पनि अत्तोपत्तो नभएपछि गाउँलेहरु मिलेर प्रहरीलाई खबर गरे ।

शुरुमा त १७ वर्षीया भागरथी कोही केटासँग पो भागेकी हुन् कि भन्ने अड्कल काटिएको थियो । तर, भोलिपल्टसम्म पनि भागरथीबाट कुनै प्रतिक्रिया नआएपछि भने सबैजना केही हच्किए । माहोल बदलियो ।

बिहीवारको दिन स्कूलबाट फर्कंदै गरेका विद्यार्थीहरुले बाटोमै पर्ने लवलेक सामुदायिक वनमा वनमाराको झाडी फा डिएको देखे । दृश्य केही शंकास्पद भएकाले उनीहरुले तत्काल गाउँमा खबर गरे । गाउँले त्यहाँ पुगेर हेर्दा त सडकबाट करिब ६० मिटर तल एक युवतीको शव थियो । युवती थिइन् उनै भागरथी । उनी अध्ययन गर्ने विद्यालय भन्दा करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।

त्यसपछि शवलाई नचलाई तुरुन्तै प्रहरीलाई खबर गरियो । प्रहरीले घटनास्थलमा पुगेर आफ्नो अनुसन्धान शुरु गर्याे । भागरथीको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनु्सन्धानबाट खुलेको छ । घटनास्थलको दृश्यले पनि सोही कुराको छनक दिएको छ ।

घटनास्थल वरिपरि वनमाराको झाडी फाडिएका थिए र मृतकको तल्लो भागको कपडा घुँडासम्म झरेको अवस्था थियो । सर्टको बटन खुल्ला थियो । यौनांग र मुखबाट रगत बगेको अवस्था थियो । घाँटीमा नीलडाम थियो भने हात र टाउकोमा चोट थियो ।

धेरैले यस घटनालाई निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग दाँजेका छन् । दुवै घटनामा पीडित एक्लै घर फर्कँदै गरेको, अबेरसम्म घर नपुगेपछि खोजतलास शुरु भएको, कतै झाडीमा शव भेटिएको, घटनास्थलको दृश्य उस्तै विभत्स ।


कहाँ पुग्यो अनुसन्धान ?

अहिले प्रहरीले यो घटना बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिसकेको छ । एसएसपीसहित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपीको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अहिलेसम्मको अनुसन्धान सन्तोषजनक रहेका बताएका छन् ।

कक्षा १२ मा अध्ययनरत भागरथीको विभत्स हत्याको अनुसन्धान तथा निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घटनास्थलमा पुगेका छन् । घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को टोली पनि खटाइसकेको छ । कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पनि पठाइएको छ ।

परिवारमा बज्रपात

भागरथीको पिताको निधन भएको २ महिना पनि पूरा भएको छैन । भागरथीको हत्याले भट्ट परिवारमा फेरि अर्को बज्रपात भएको छ । यस घटनाले सारा गाउँ शोकमा डुबेको छ ।

भागरथीकी आमा दुरा भट्टले हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्न माग गरेकी छन् । भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदा भतिजीको हत्याका विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए । कारण भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको छ  । भट्टको शव आफन्तले बुझ्न मानेका छैनन् । हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।

बैतडी जिल्ला अस्पतालमा शनिबार शवको पोस्टमार्टम गरिएको छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

घटनाको चौतर्फी विरोध

भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न चौतर्फी विरोध भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।”

विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । नेकपाले मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

यता बृहत नागरिक आन्दोलनको तर्फबाट पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । शनिबार बृहत नागारिक आन्दोलनका तर्फबाट युग पाठकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने, षडयन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने, पीडकलाई छुट्कार दिने र पीडितलाई थप पीडा दिने काम नगर्न आग्रह गरिएको छ ।

यस्तै नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ‘बलात्कारपछि हत्या’ गरिएकी बैतडीकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेविसंघ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

हत्यारालाई कारवाहीको माग राख्दै विभिन्न ठाउँमा प्रदर्शन समेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?