गरिबी सूचकाङ्कमा लक्ष्यभन्दा बढी प्रगति

काठमाडौं । गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ । सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा २८.६ प्रतिशतमा झरेर लक्ष्यभन्दा बढी प्रगति गरेको छ ।

नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको आइतबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा जानकारी दिइएको हो । दिगो विकास लक्ष्य प्रगति समीक्षा, २०१६–२०१९ प्रतिवेदन र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका, २०२० सार्वजनिक गर्न आयोजित त्यस कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले हालसम्म दिगो विकास लक्ष्यको प्रगति मिश्रित रहेको जानकारी दिए । दुवै प्रकाशन प्राडा कँडेल र राष्ट्रिय सभाको विधायन समितिका सदस्य डा. विमला राई पौड्यालले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

प्रतिदिन १.९० डलर (पीपीपी मूल्य) आयभन्दा मुनि रहेको नेपालको जनसङ्ख्या सन् २०१५ मा ३६ प्रतिशत रहेकोमा अहिले (२०१९) १५ प्रतिशतमा झरेको छ । जुन २०१९ को लक्ष्य २८.२ प्रतिशतभन्दा धेरै प्रगति हो । यो दरलाई २०३० सम्ममा आठ प्रतिशतमा झार्ने लक्ष्य छ ।
यसैगरी दिगो विकास लक्ष्य (२०१६–२०३०) लागू हुनुअघि (२०१५) ४४.२ प्रतिशत रहेको बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकामा २८.६ प्रतिशतमा झरेको छ । यो लक्ष्यभन्दा बढी प्रगति हो । २०३० सम्ममा भेट्ने लक्ष्य भने १० प्रतिशत छ । गुणस्तरीय शिक्षा क्षेत्रमा नेपालको प्रगति राम्रो छ । प्राथमिक तहको खुद भर्ना दर सन् २०१९ को लक्ष्यको हाराहारी अर्थात् ९७.२ प्रतिशत हासिल भएको छ भने १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर (९९ प्रतिशत), स्नातक तहमा छात्रा भर्ना दर (शतप्रतिशत) र प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या (४४ प्रतिशत) लक्ष्यभन्दा बढी हो । गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?