जानीराखौँ यस्ता स–साना आनीबानी बदलेर जोगाउन सकिन्छ वातावरण

‘दैनिकी बदलौं, पर्यावरणमैत्री बनौं’

काठमाडौं । प्रदूषण, ग्लोबल वार्मिङ, हरित गृह प्रभाव, प्राकृतिक प्रकोप लगायत वातावरणसँग सम्बन्धित समस्याहरु अहिले विश्वकै चासो बनेका छन् । ‘ग्लोबल इस्यू’ का रुपमा लिइएको वातावरण सम्बन्धी समस्या सुल्झाउनलाई केही व्यक्तिहरु लागिपरेका पनि छन् । वातावरण संरक्षण अभियान्ताहरुले विश्वव्यापी रुपमा वृक्षरोपण गर्ने देखि सरसफाइका कार्यक्रम आयोजना गर्ने, पर्यावरणमैत्री खानपिन, रहनसहनको अवधारणालाई फैलाउने जस्ता क्रियाकलाप मार्फत् सकेसम्म वातावरणको संरक्षण गर्न जुटेका छन् ।

यद्यपि हामीले हरेक दिन खाने खाना, लगाउने कपडा, हिँड्ने तरिका, गर्ने क्रियाकलापहरुले अप्रत्यक्ष रुपमा संरक्षणका प्रयासहरुलाई निष्क्रिय बनाइरहेका छन् । अपेक्षाकृत उपलब्धि हासिल गर्नबाट वञ्चित गरिरहेका छन् ।

उदाहरणका लागि यदि कुनै ठाउँमा सयौंको सङ्ख्यामा वृक्षरोपण गरियो तर त्यही ठाउँमा हरेक दिन हजारौं रुख ढालेर बनाइएको चपस्टिक खपत हुन्छ, टनको मात्रामा प्लाष्टिकजन्य फोहोर थुप्रिरहेको हुन्छ भने त्यो प्रयास नगण्य सावित हुन्छ ।

त्यसैले, विश्व परिवर्तन गर्नुअघि हरेक व्यक्तिले आफैलाई परिवर्तन गर्न जरुरी छ भनेझैं हाम्रा दैनिक क्रियाकलापहरुमा मितव्ययिता अपनाएर अथवा त्यसलाई परिवर्तन गरेर हामीले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु-याउन सक्छौं ।

तर कसरी ल्याउने आफ्ना आदतहरुमा परिवर्तन ? अनि, कस्ता आदतहरुमा परिवर्तन ल्याउने त ?

हामीले लगाउने कपडा, प्रयोग गर्ने सौन्दर्य सामाग्री, खाने खाना र घुम्ने तरिकामा ल्याउन सकिने सामान्य तर महत्वपूर्ण परिवर्तनका बारेमा तल दिइएको छः

फेसन

गो लोकलः स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय क्षेत्रमा भएका पसलहरुबाट कपडा किन्ने । खरिदका लागि इबे, डेपप लगायत साइटहरुको प्रयोग पनि गर्न सकिन्छ । यसले साना तथा मझौला उद्योगको उन्नतिमा मद्दत पु-याउँछ जसले वातावरणमा ठूला उद्योगको तुलनामा कम असर पु-याउँछन् ।

कम खरिद गर्नेः आजभोलि आवश्यकताले भन्दा पनि रहरले कपडा किन्ने चलन छ । बजारमा जस्तो ट्रेन्ड भित्रियो, जे फेसन चल्यो त्यही किन्न थालेका छन् मान्छेहरु । अझै आफूलाई मनपर्ने सेलिब्रेटीहरुले लगाएको डिजाइनलाई नक्कल गर्दै कपडा बनाउने ‘ट्रेन्ड’ छ ।

त्यसैले सकेसम्म धेरै नयाँ लुगा किन्दै नकिन्ने । आफूसँग भएका कपडालाई नै प्रयोगमा ल्याउने । कम्तीमा ती कपडाहरुले पनि आफ्नो आयू जति प्रयोगमा आउनु त प-यो नि ।

वातावरणमैत्री फाइबरलाई प्राथमिकता दिनेः यदि आफ्नो अघि प्रशस्त विकल्प छ भने सधै पर्यावरणमैत्री फाइबरलाई नै रोज्नु पर्दछ । जस्तैः सूती र पोलिस्टरको बीचमा हाम्रो रोजाइ सूती हुनुपर्छ । लगाउँदा आरामदायी मात्र होइन सूतीमा त्यस्ता हानिकारक माइक्रो फाइबर हुँदैनन् जसले हाम्रा पानीका मुहानलाई प्रदूषित बनाउन् ।

पुनःप्रयोगको बानी बसाल्नेः उध्रिएका, दुलो परेका कपडालाई घरमै सिउन सकिन्छ । सियो, धागोले सिउन खासै समय र मिहिनेत नलाग्ने भएकाले यो कला हरेकले सिक्दा आफैलाई फाइदा हुन्छ ।

फेरि कुनै लुगा फाटेमा त्यसको सिलाईमा सामान्य परिवर्तन ल्याएर नयाँ डिजाइन पनि दिन सकिन्छ ।

खाना

वनस्पतिबाट बनिने खानाका परिकारहरुको सेवनः पर्यावरण जोगाउन सबैजना भेगन हुनुपर्छ भन्ने होइन । आफ्नो दैनिक खुवाईमा केही सामान्य परिवर्तन ल्याएर पनि हामीले वातावरण सुरक्षामा मद्दत पु-याउन सक्छौं । जस्तैः दैनिक मांसहारी खाना खानेले हप्तामा एकदिन वा केही दिन मात्रै खाएर बाँकी दिन हरियो सागसब्जीको सेवन गर्न सक्छन् ।

जतिसक्दो ‘लोकल’ रहनेः विदेशबाट आयात गरिएका खानेकुरा भन्दा आफ्नै गाउँठाउँमा उब्जिएका खानेकुरा खाने गर्नुपर्छ ।

हामीले स्थानीय तहमा उत्पादन हुने खानेकुराहरुको सेवनमा वृद्धि गर्नु भनेको नै स्थानीय कृषकहरुलाई प्रोत्साहन गर्नु हो र घरेलु तथा साना उद्यमको स्तरोन्नतिमा मद्दत पु-याउनु हो । यस्ता उद्योगहरु ठूला उद्योगभन्दा कैयौं गुणा पर्यावरणमैत्री हुन्छन् ।

मौसमी खानेकुराको सेवन गर्नेः मौसमी खानेकुराको उत्पादनमा न कुनै रासायनिक मलको प्रयोग गर्नुपर्छ न त ग्रीनहाउसको आवश्यकता पर्दछ । विशुद्ध प्राकृतिक अवस्थामा पनि उब्जिन्छ मौसमी सागसब्जी वा फलफूलहरु । त्यसैले कुनै पनि सब्जी अथवा फलको मौसम चलेको छैन भने त्यसको सेवन गर्नु हुँदैन । स्वास्थ्य सँगसँगै वातावरणमा पनि यसको फाइदा नै छ ।

खेर नफाल्ने बरु प्याक गर्न लगाउने: अहिलेको व्यस्त जीवनशैलीमा प्राय व्यक्तिहरु बाहिरै खान रुचाउँछन् । घरमा सामान जुटाएर, पकाएर, खाएर, भाँडा सफा गर्ने जटिल प्रक्रिया भन्दा होटल, रेस्टुराँमा गएर पैसा तिरेर खानुले एक त समयको बचत गर्ने, अर्को जे मन लाग्यो त्यही खान पाइने त्यही पनि मिहिनेत नै नगरी । तर, रेस्टुराँमा खाएर उठेपछि उनीहरुको टेबल कहिल्यै हेर्नुभएको छ ? प्रायजसो खाना फ्याकिएको हुन्छ ।

त्यसैले यदि खाना धेरै नै भइहाले पनि त्यसलाई ‘प्याक’ गर्न लगाएर घरमै लिएर आउनुपर्ने सल्लाह विज्ञहरु दिन्छन् ।

प्याकेजिङ गरिएका भन्दा खुल्ला खानेकुरा किन्नेः फलफूल, सागसब्जी जस्ता खानेकुराहरु प्लाष्टिकमा प्याक गरिएको भन्दा खुल्लामा किन्नु उपयुक्त हुन्छ । बरु क्यान अथवा कार्डबोर्ड जस्ता चीजमा प्याक गर्न लगाउने जुन प्लाष्टिकको तुलनामा निकै वातावरणमैत्री हुन्छन् ।

सुन्दरता

फेस वाइप्सको प्रयोग नगर्नेः दिनभरिको भागदौड, धुवाँधुलोका कारण छालामा जम्मा हुने फोहोर सफा गर्न बरु प्राकृतिक तेल तथा वनस्पतिबाट निर्मित क्लिजिङ प्रयोग गर्न सकिन्छ । यदि सानो बच्चा भएकाले वाइप्सको प्रयोग गर्नैपर्ने हो भने ‘बायो डिग्रेडेबल’ वाइप्स प्रयोग गर्न सकिन्छ ।

महिनावारी हुँदा प्रयोग गरिने सामाग्रीः स्यानिटरी प्याड, टेम्पोन जस्ता सामाग्री पुनःप्रयोग गर्न मिल्दैन । हरेक महिना आवश्यक पर्ने यी सामाग्रीहरुको प्रयोग पछि व्यवस्थापन सही तरिकाले भएकै हुँदैन । त्यसैले यसको सट्टा बरु पुनःप्रयोग गर्न मिल्ने ‘मेन्स्ट्रुअल कप’ प्रयोग गर्नुपर्दछ । सिलिकनबाट बनेको यो कप स्वास्थ्यकै दृष्टिकोणले पनि स्यानिटरी प्याडहरु भन्दा सुरक्षित हुने बताइन्छ ।

ठूला ब्राण्डहरु पनि पर्यावरणमैत्री हुन्छन्ः आजभोलि भेगन अभियानका कारण ठूल्ठूला ब्राण्डहरु पर्यावरणमैत्री बनेका छन् । व्यापारकै हिसाबले पनि ती ब्राण्डहरुले यस्ता सामाग्रीहरुले भविष्यमा राम्रो बजार पाउनेछ भन्ने कुरा बुझ्न थालेका छन् ।

यात्रा

के मा यात्रा गर्ने भन्ने कुरा ध्यानमा राख्नेः सकेसम्म पैदल नभए साइकल त्यो पनि नभए गाडी वा ट्रेनको प्रयोग गर्दा उचित हुन्छ । हवाइजहाजमा धेरै यात्रा नगर्ने ।

प्याकिङमा ध्यान पु-याउनेः सकेसम्म थोरै प्याकिङ गर्ने । प्लाष्टिकबाट बनेका सामानहरु धेरै नराख्ने । त्यसको विकल्पमा अरु कुनै सामान बोक्न सकिन्छ कि भनेर ध्यान पु-याउने । उदाहरणका लागि ट्वाइलेट पेपरहरु भन्दा सफा पानीको प्रयोग गर्ने ।

कहाँ खाने भनेर अगाडि नै योजना बनाउनेः कुनै नयाँ ठाउँ गइँदैछ भने त्यहाँका रेस्टुराँहरुका बारेमा राम्रोसँग बुझ्ने । उनीहरुको फोहोर व्यवस्थापन नीति कस्तो छ, वातावरणका बारेमा कतिको सजग छन् भन्ने कुरा बुझेर त्यस्ता रेस्टुराँहरुलाई प्रोत्साहन गर्नका लागि त्यहीँ खाना खान सकिन्छ ।

स्थानीयका बारेमा ज्ञानः यदि कुनै नयाँ ठाउँ जाने हो भने त्यहाँको गल्ली, चोक, विशेष स्थान, आदिका बारेमा बुझ्न साइकलमै घुम्न सकिन्छ । त्यहाँका मानिससँग घुलमिल हुँदै त्यस ठाउँको विशेषता, त्यहाँको रहनसहन, संस्कृति बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?