माघ महिनामा जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ?

लोकपथ
117
Shares

काठमाडौं – हरेक मानिसका आ – आफ्ना स्वभाव, रुची, चाहना, आकांक्षा र सोच हुन्छ । त्यसो त व्यक्ति जन्मिएको साल, महिना, गते, बार, घडी, पलामा समेत उसको आनिबानी, प्रवृति, भाग्य र भविष्य निर्धारण हुन्छ ।

यो माघको महिना भएकोले माघ महिनामा जन्मिने मानिसका स्वभाव, आनीबानी, रुची र प्रवृति कस्तो हुन्छ भन्ने विषयमा ज्योतिषशास्त्रले भनेका केहि कुराहरु यहाँ प्रस्तुत गरिएको छ : 

-यस महिनामा जन्मिने मानिसहरु वुद्धिमान हुन्छन् ।

-कर्ममा विश्वास गर्ने यिनीहरु धनवान, निडर हुन्छन् ।

-यस महिनामा जन्मिने मानिस वाक चतुरता र स्पष्ट बोल्ने बानी हुन्छ । यो बानीले कहिलेकाहिँ यिनीहरुले जिद्दी स्वभाव भएको भन्ने टिकाटिप्पणी खेप्नुपर्छ । प्वाक्क बोलिहाल्ने स्वभावले झ्वाट्ट हेर्दा निर्दयी देखिए पनि यिनीहरु अरुको कुभलो चिताउँदैनन्।

-कहिलेकाहिँ यिनीहरु आफ्नो कित्तामा शक्ति ल्याउन अभ्यासहरु पनि गर्छन् ।

-माघमा जन्मिएका मानिसहरु विशेषत महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन्।

-अन्य मानिसभन्दा केहि जिद्दी स्वभाव भएकोले यिनीहरु अलि भिन्न शैलीले काम गर्न र व्यवहार गर्न रुचाउँछन् । अरुलाई कुरा गर्दा पूरा कुरा गर्न नदिने स्वभावका हुन्छन्, यस महिनामा जन्मिने मानिसहरु ।

-माघ महिनामा जन्म भएका मानिसहरुलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त धनसम्पति जोड्ने मौका मिल्नेछ ।

-बौद्धिक क्षमता भएका कारण यस महिनामा जन्मेका मानिसहरु साहित्यमा रुचि राख्छन्। सिर्जनशिल हुन्छन् ।

-बढी बोल्ने हुँदा विवादमा फस्न सकिने कारण यस महिनामा जन्मेका मानिसहरुलाई सकभर ‘थोरै बोल, धेरै सून’ भन्ने सल्लाह उपयुक्त हुनसक्छ ।

-यो महिनामा जन्मने मानिसहरुसँग नेतृत्व गर्ने क्षमता रहन्छ। बलियो ईच्छा शक्ति र कडा मिहिनेत गर्ने बानीले यिनीहरु जित आफ्नो पोल्टामा पर्छन् ।

आर्थिक हिसाबले यिनीहरु कञ्जुस स्वभावका भएपनि रमाइलोको लागि र आफ्नो मन खुसी बनाउन प्रशस्तै खर्च गर्छन् ।

यस महिनामा जन्मिने मानिसहरु सकभर प्रेम गर्न अरुलाई लोभ्याउने तर आफू अगाडी नबढाउने स्वभावका हुन्छन् । यस्ता मानिसहरु हत्तपत्त प्रेममा फस्दैनन् तर मायामा परेपछि अटुट प्रेम गर्ने स्वभाव हुन्छ ।

महिलाहरुको स्वभाव कस्तो हुन्छ ? 
यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी र चञ्चल स्वभावका हुने गर्छन् । माघ महिनामा जन्मिएका व्यक्तिहरुको मन निकै सफा हुने हुन्छ । अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरुमा सकारात्मक सोच हुन्छ । कसैलाई देख्दा मुसुक्क हाँसेर प्रभाव पार्ने क्षमता हुन्छ । हँसिलो अनुहार भएपनि मनबाट भने जिद्दी र अडिग भएर रहने क्षमताको स्वभाव हुन्छ यी महिलाहरुमा ।

कुन बार जन्मिएका मानिसहरु कस्तो स्वभावका हुन्छन् ? 

मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन वार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

आइतवार : 

१. आइतवार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।

२. तपाईहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।

३. निकै संवेदनशील हुने भएका कारण तपाईहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।

४. तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।

५. तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

६. तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।

७. तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।

८. तपाई सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

९. तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

१०. तपाई आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईलाई छोड्न चाहन्नन् ।

सोमवार : 

१. सोमवार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।

२. तपाई मृदुभाषी हुनुहन्छ तर तपाई निकै ‘मुडी’ हुनुहुन्छ ।

३. तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै ‘नर्भस’ हुनुहुन्छ ।

४. तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।

५. तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।

६. तपाई पढाईमा तीक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।

७. सोमवार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

८. सोमवार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

९. तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

१०. हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको ‘मुडी’ स्वभावले तपाईलाई तनाव दिने गर्दछ ।

मंगलवार : 

१. मंगलवार जन्मेका व्यक्तिहरु निकै बहादुर, ‘स्मार्ट’ र ‘एक्टिभ’ हुने गर्दछन् ।

२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।

८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।

९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।

१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधवार : 

१. बुधवार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

२. तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाई निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।

३. तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।

४. तपाईलाई नयाँ-नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।

५. तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।

६. तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।

७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

८. तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।

९. तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईलाई प्रभावित तुल्याउन सक्दैनन् ।

१०. तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।

११. तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाई आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।

१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिवार : 

१. बिहिवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

२. तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।

३. तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।

४. तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।

५. तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।

७. तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।

८. तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

९. तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।

१०. बिहिवार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।

१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रवार : 

१. शुक्रवार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।

२. तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।

३. तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

४. तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।

५. तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।

६. यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

७. तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाहीँ यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

८. तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

९. तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।

१०. तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।

११. तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।

१२. तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिवार : 

१. शनिवार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।

२. तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।

३. तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईले लगाउने लुगादेखि जुत्तासम्मले तपाईको हाई क्लास पर्सनालिटी झल्काउँछ ।

४. तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काहीँ स्पष्ट वक्ताको रुपमा तपाईको आलोचना पनि हुने गर्दछ ।

५. तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।

६. तपाई पैसावाला हुनुहुन्छ तर तपाई छिट्टै पैसा खर्च गर्नुहुन्न ।

७. तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।

८. तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।

९. तपाई जिद्दी हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्नुहुन्छ ।

१०. तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।

११. तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाई आफ्नो ‘पार्टनर’लाई निकै ‘केयर’ गर्नुहुन्छ ।

हेर्नुहोस् २०७७ साल माघ महिनाको राशिफल :

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मेष राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती राज्य भावमा,शुक्र १३ गतेसम्म भाग्य भावमा र १४ गतेबाट राज्य भावमा । मंगल राशिमा । राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहेका छन् ।

महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेको छ । नीति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेको छ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ । कला साहित्य तथा गित संगितमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माता पिता तथा अग्रजबाट आशिर्वाद तथा सहयोग पाईनेछ । विशेष गरि खनिज पदार्थसँग सम्बन्धीत कामहरु र जग्गा जमीनको कारोबार गर्नेहरुका लागि समय उत्तम रहनेछ ।

वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वा)

वृष राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती भाग्य भावमा,शुक्र १३ गतेसम्म कष्ट भावमा र १४ गतेबाट भाग्य भावमा । मंगल खर्च भावमा । राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहेका छन् ।

भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केही असहज परिस्थितीको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दी आउनेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेकोछ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।

तरपनि संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तीको योग रहेकोछ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठूलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ । बृहस्पती तथा शुक्र र अन्य ग्रहको अनुकुल प्रभावले गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाईको सहयोग रहनेछ भने छोटो दूरीको रमाईलो यात्राको तय हुनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन लाभ हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कमर्श,वकालत, मन्त्रि, प्रशासनिक तथा सरकारी क्षेत्रबाट विषेश फाईदा हुनेछ । फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगती गर्ने तथा बिलाशी जीवन व्यतित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती कष्ट भावमा,शुक्र १३ गतेसम्म व्यापार भावमा र १४ गतेबाट कष्ट भावमा । मंगल लाभ भावमा । राहु खर्च भावमा र केतु प्रतिष्पर्धा भावमा गोचर गरिहेका छन् ।

महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले स्थाई सम्पत्तीमा बिवाद आउने योग रहेको छ भने दिदि बहिनी तथा आफन्तसँग अनावस्यक बिवाद हुनेछ । घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले विषेश ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा तपाईंको उपश्थिती कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ ।

नसोचेको धन तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्तीको प्रयोग गरिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन,बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
शनिको अढैया प्रभावले दीर्घरोग जस्तै प्रेसर,सुगर,नसा सम्बन्धी समस्या भएकाहरु र प्यारालाईशिष सम्बन्धी समस्या भएकाहरुले विशेष ध्यान दिनुहोला । सवारी साधनको तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घट्ना नहोला भन्न सकिन्छ ।
सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,व्यापार,हास्य व्याङग्य, कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो महिना उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कर्कट राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती व्यापार भावमा,शुक्र १३ गतेसम्म प्रतिष्पर्धा भावमा र १४ गतेबाट व्यापार भावमा । मंगल राज्य भावमा । राहु लाभ भावमा र केतु विद्या भावमा गोचर गरिहेका छन् ।

महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथीसँग राय बाजिनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाब बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । छोटो वा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथीहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशिर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाई लेखाई सुधार भएर जानेछ भने कुनैपनी प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशिर्वाद प्राप्त हुनेछ ।

राज्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रभावले राज्यको सुरक्षा सँगठनमा काम गर्ने, वा काम गर्न चाहनेहरुका लागि समय उत्तम रहको छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।
पानी सँग सम्बन्धित काम जस्तै जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सिंह राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती प्रतिस्पर्धा भावमा,शुक्र १३ गतेसम्म विद्या भावमा र १४ गतेबाट प्रतिष्पर्धा भावमा । मंगल भाग्य भावमा । राहु राज्य भावमा र केतु शुख भावमा गोचर गरिहेका छन् ।

छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धीहरु पनि सहयोगी बन्नेछन् । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ । माता पिता तथा मावली पक्षबाट आशिर्वाद पाईनेछ । बाधा बिरोध गर्नेहरु आफैँ किनारा लाग्नेछन् । थाँति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ ।

पढाई लेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । खनिज पदार्थ,खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ । बैक तथा वित्तिय क्षेत्रमा र शिक्षा क्षेत्रमा लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
प्रशासनिक कार्य,सेना,प्रहरी,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, व्यवस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिसर्च,अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगती हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती बिद्या भावमा,शुक्र १३ गतेसम्म शुख भावमा र १४ गतेबाट विद्या भावमा । मंगल कष्ट भावमा । राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिहेका छन् ।

सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाव बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानी खस्केर जानेछ । पेट,आँखा तथा टाउकोमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दीर्घरोगि जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागि महिना मध्यम रहेको छ ।
तरपनि महिनाभर नै बुध,शुक्र,मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ ।

अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईभेट कम्पनीहरुका काम गर्नेहरका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पत्ती जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेको छ । अध्ययन तथा कामको शिलशिलामा लामो दूरीको यात्राको तय हुनेछ ।

व्यापार व्यवसाय,बाणिज्य,लेखन,कला साहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या रासि भएका व्यक्तिहरुले आफूलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तुला राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती शुख भावमा,शुक्र १३ गतेसम्म पराक्रम भावमा र १४ गतेबाट शुख भावमा । मंगल व्यापार भावमा । राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिहेका छन् ।

सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मिहेनत गर्नुपर्ने भएकोले राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरुका लागि समय मध्ययम रहेको छ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । महिनाभर नै शनिको अढैयाको प्रभाव रहने हुनाले सवारी साधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला । रुपैया पैसा डुब्ने र सवारि साधनको प्रयोग गर्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

तर पनि महिनाभर नै बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैत्रिक धन तथा सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुका लागि मनग्गे धन सम्पत्ती जोड्न सकिने समय रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबार केही मात्रामा फस्टाएर जानेछ ।
सुख भावमा गोचर बृहस्पती र अन्य ग्रहको शुभ प्रभाव रहने हुनाले औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । बैंक तथा वित्तिय क्षेत्र र शिक्षा क्षेत्रबाट लाभ लिन सकिनेछ ।

कूटननीति, परराष्ट्र,राजनीति,राजदुत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोल बिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशि हुनेहरुका लागी सूर्य,बुध,शनि र बृहस्पती पराक्रम भावमा,शुक्र १३ गतेसम्म धन भावमा र १४ गतेबाट पराक्रम भावमा । मंगल प्रतिष्पर्धा भावमा । राहु व्यापार भावमा र केतु राशिमा भावमा गोचर गरिहेका छन् ।

वृश्चिक राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पत्ती संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

अन्धविश्वास तथा कुसंस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्बाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ ।

विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाँफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिष्पर्धी हरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । कलाकृर्तिसँग सम्बन्धीत काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
जो व्याक्तिहरु कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर,आयात, अनुसन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुन्द्रसँग सम्बन्धित काम गर्नेहरुका लागी यो महिना उत्तम रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती धन भावमा,शुक्र १३ गतेसम्म राशिमा र १४ गतेबाट धन भावमा । मंगल विद्या भावमा । राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहेका छन् ।
दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न नसक्दा उपलब्धी हातबाट फुत्किनेछ । धन सम्पती हराउने, लुटिने तथा स्थाई सम्पतिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट तथा छात्ती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दी आउनेछ । त्यस्तै शनिको अन्त्य साढेसातीको प्रभाव महिना भर नै रहनेछ । आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । शरिरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याँष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।

तर पनि बुध,शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धी हासिल हुनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्याधिस,अधिवक्ता तथा नोकरिमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । धन भावमा भएको बृहस्पतीको अनुकुल प्रभावले उत्पादनमूखी,औषधीजन्य तथा शैक्षिक क्षेत्रको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ ।

धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।
प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशि हुनेहरुका लागि सूर्य,बुध,शनि र बृहस्पती राशिमा,शुक्र १३ गतेसम्म खर्च र १४ गतेबाट राशिमा । मंगल शुख भावमा । राहु विद्या भावमा र केतु लाभ भावमा गोचर गरिहेका छन् ।

यो महिना व्यापार व्यवसायमा मन्दी आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । शनिको मध्य साँढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले स्वास्थ्यमा बिशेष गरि उच्च रक्तचाप,टाउको दुखाई,छाती,आँखा तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानि र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।

तर पनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । औषधि,निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा वृद्धि हुनेछ ।

मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा वित्तिय सस्था जस्ता क्षेत्रमा काम गर्नेहरुले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, सञ्चालक, म्यानेजर,अध्यक्ष, न्याधिस, ईन्जिनियर, व्यवस्थापक,वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरुका लागि सूर्य, बुध, शनि र बृहस्पती खर्च भावमा,शुक्र १३ गतेसम्म लाभ र १४ गतेबाट खर्च भावमा । मंगल पराक्रम भावमा । राहु शुख भावमा र केतु राज्य भावमा गोचर गरिहेका छन् ।

व्यवहारिक तथा आर्थिक उतारचडाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानिको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुले काममा ढिला सुस्ति तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिुर्नु पर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरुले नियम संगत काम गर्न नसक्दा नोकरिमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।

महिनाभर नै शनिको आद्य साढेसातिको प्रभाव रहने छ, जसको कारणले आफन्त तथा कुटुम्बसँग घरायसी कुरामा राय बाजिनेछ । शरीरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।

तर पनि बुध,बृहस्पती,मंगल तथा शुक्रका अनुकुल प्रभावले लामो समयदेखी बन्द रहेका उद्योगहरु रुचारु गर्न सकिनेछ । आफन्त तथा अग्रबाट आशिर्वाद प्राप्त हुनेछ । सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विद्यार्थी तथा शिक्षा पेशामा लागेका व्याक्तिहरुका लागि समय लाभदायी बन्नेछ । यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानी गर्नेहरुका लागि समम फलदायी रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीहरुका लागी समय उत्तम रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको

सहयोगले राम्रा तथा परिणामूखी कार्य सकिनेछ ।
यो महिना सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च,प्राबिधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहनेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागी पनि समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कुम्भ राशि हुनेहरुका लागी सूर्य,बुध,शनि र बृहस्पती लाभ भावमा,शुक्र १३ गतेसम्म राज्य र १४ गतेबाट लाभ भावमा । मंगल धन भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहेका छन् ।

महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ भने मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । राजनीतिकर्मि,खेलाडी,पत्रकार तथा विद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ । अग्रज तथा आफन्तबाट तपाईको काममा सहयोग तथा आशिर्वाद पाईनेछ ।

व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पती आर्जन गर्न सकिनेछ । आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ ।
तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ती लाभ हुने ग्रहयोग रहेको छ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ ।

माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथिको सहयोगले राम्रा तथा परिणाममखि कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
लेखन, साहित्य,कविता,कला तथा साहित्य, मनोरञ्जन, हास्यबिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउने समय रहेको छ ।

तपाईको यो महिना शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।

यो पनि पढ्नुहोस् :
सन् २०२० कुन राशिको लागि कति शुभ, कति अशुभ ? हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?