अमेरिकाको संसदमै गोली चलेको प्रकरण के हो ? ट्रम्पले उक्साएका थिए समर्थकहरुलाई !

सन् १८१२ को युद्ध पछि ‘क्यापिटोल’मा भएको पहिलो आक्रमण

काठमाडौं । अमेरिकाको संसद चलिरहेको थियो । हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएको औपचारिक घोषणा गर्ने कार्यक्रम थियो । यत्तिकैमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुको आन्दोलन हुरु भयो । चुनावमा धाँधली भएको भन्दै उनीहरु चर्को नाराबाजीमा उत्रिए । ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको नारा लगाउँदै उनीहरुले संसद भवनको झ्यालढोकामा तोडफोड गर्न थाले । भीड अनियन्त्रित भयो । उनीहरु संसद भवनभित्रै छिरे । परिस्थिति नियन्त्रण भन्दा बाहिर गएको देखेपछि सुरक्षाकर्मीले गोली चलाउन थाले । यही क्रममा एक महिला आन्दोलरकारीको गोली लागी मृत्यु भयो । यसपश्चात् वासिङ्टनका मेयर मुरियल बोउसरले शहरमा १२ घन्टाका लागि कफ्र्यू आदेश जारी गरेका छन् । मेयर बोउसरका अनुसार त्यहाँ १५ दिनका लागि पब्लिक इमर्जेन्सी लगाइएको छ ।

यस विरोध प्रदर्शनमा महिलाका अतिरिक्त थप तीन जनाको मृत्यु भइसकेको छ । मृतक महिला भेटरन अमेरिकी वायुसेना भएको बताइएको छ ।
हालसम्म ५२ जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् जसमध्ये ४७ जनालाई कफ्र्यू उल्लंघन गरेकाले पक्राउ गरिएको हो ।

ट्रम्पले उक्साएका थिए समर्थकहरुलाई…

सोही दिन संसद बैठक भन्दा केही समयअघि मात्र ह्वाइट हाउस अगाडि उभिएर ट्रम्पले विचारोत्तेजक भाषण गरेका थिए । उनले प्रजातन्त्रमा ठूलो घात भएको भन्दै त्यसको विरुद्धमा आफ्ना समर्थकहरुलाई आवाज उठाउन उक्साएका थिए ।

उनले भीडलाई सम्बोधन गर्दै सिधै संसद भवनमा गएर विरोध गर्न आह्वान गरेका थिए । ट्रम्पले आफू पनि उनीहरुको कदममा साथ दिने बताउँदै समर्थकहरुलाई आन्दोलन गर्न उकासेका थिए ।

राष्ट्रपति ट्रम्पले केही समयपछि भीडलाई शान्त पार्न नेसनल गार्डलाई परिचालन गर्न आदेश दिएका थिए ।

सन् १८१२ को युद्ध पछि ‘क्यापिटोल’मा भएको पहिलो आक्रमण

विज्ञहरुका अनुसार सन् १८१२ को युद्धपश्चात् अमेरिकाको ‘क्यापिटोल’भवनमा आक्रमण भएको यो पहिलो पटक हो ।

सन् १८१४ को अगस्टमा सर अलेक्जेन्डर ककबर्न र रोबर्ट रसको नेतृत्वमा बेलायती सेनाले डिसीमा हमला गरिसकेपछि अमेरिकाको ‘क्यापिटोल’ भवन लगायत ह्वाइट हाउस र अन्य संरचनामा आगो लगाइदिएका थिए ।

आफ्ना तत्कालीन केही उपनिवेशहरुलाई(हाल क्यानाडा) अमेरिकाले जलाइदिएकाले सो घटनाको बदला लिनलाई बेलायतले यो हमला गरेको थियो ।
यूएस क्यापिटोल ऐतिहासक समाजका विज्ञहरुका अनुसार ‘क्यापिटोल’ भवन फगत एउटा संरचना मात्र नभएर अमेरिकाको प्रजातन्त्र र जीवन पद्धतिको प्रतीक हो ।

त्यसैले यतिका वर्षपछि त्यसमाथि पनि आफ्नै देशवासीद्वारा आक्रमण हुनुले अमेरिकालाई ठूलो धक्का दिएको उनीहरुले जनाएका छन् ।

विश्वभरिका नेताहरुले गरे चर्को आलोचना

संसद आक्रमणको यस घटनालाई लिएर विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।
अमेरिकाको छिमेकी मुलुक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस घटनालाई अमेरिकाको प्रजातन्त्रमाथि भएको हमला बताउँदै यसले क्यानडेली जनतालाई निकै निराश बनाएको बताएका छन् ।

त्यसैगरी, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो घटनाको दृश्य लज्जास्पद भएको बताएका छन् ।

‘अमेरिका संसारभरि लोकतन्त्रका पक्षमा उभिएको छ र अहिले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण कुरा हो,’ उनले भनेका छन् ।
त्यसैगरी न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले आफूले पनि क्यापिटोल भवनमा भइरहेको घटना हेरिरहेको बताउँदै अन्त्यमा प्रजातन्त्रको जीत हुने उल्लेख गरेकी छिन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यउस घटनामा आफ्नो मत राखेका छन् ।वासिङ्टनमा भएको हिंसाका समाचारले विक्षिप्त भएको उल्लेख गर्दै गैरकानुनी प्रदर्शनको दबावमा प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न नहुने बताएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कानूनतः सम्पन्न गरिएको स्वच्छ र निष्पक्ष चुनावको नतिजाको विरोध गर्नु भनेको राष्ट्रको गरिमामा ठूलो आँच पु-याउनु हो भन्दै हमलाको निन्दा गरेका छन् ।

एजेन्सीको सहयोगमा

थप समाचारः
ट्रम्प समर्थकद्वारा सिनेटमा हिंसात्मक प्रदर्शन, राजधानी डिसीमा कर्फ्यु

अमेरिकी संसद परिसरमा बबाल : ४ जनाको मृत्यु, वाशिंगटनमा १५ दिने पब्लिक इमर्जेन्सी

फोटोमा हेर्नुहोस् अमेरिकी हिंसा : कसैको टाउको फुट्यो त कोही ढोकाबाट खसे !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?