अध्यादेश बारे देउवाको आपत्ती, संवैधानिक परिषद् बैठकमा नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा नजाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले ल्याएको अध्यादेश विवादित भएसँगै उनले बैठकमा नजाने घोषणा गरेका हुन् ।

साथै उनले अध्यादेश अलोकतान्त्रिक कार्य भएको भन्दै आफू बैठकमा नजाने बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंग छाएको छ ।

साथै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् को मुल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ अध्यादेश जारी गरिएको बताएका छन् । उनले ”संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।” भनेका छन् ।

यो पनि : अध्यादेश जारी भएपछि जंगिए रामचन्द्र पौडेल, के भने ?

नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

यो पनि : राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?