काठमाडौं । सरकारले मंगलवार (आज) हठात रुपमा ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आपत्ती जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उपसभापति निधीले उक्त अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कामको संज्ञा दिएका छन् ।
“आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो।” उनले भने ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान र प्रणालीमाथि नांगो आक्रमण रहेको भन्दै स्वीकार्य नहुने समेत बताएका छन् ।
“संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन।” उनले भने ।
सरकारले हठात रुपमा अध्यादेश ल्याएसँगै विभिन्न कोणबाट आलोचनाहरु भइरहेका छन् । यसैक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश बदनियतपूर्ण रहेकाले फिर्ता गर्न माग गरेका छन् । त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सामाजिक सञ्जालमा लेख्दै सत्ता स्वार्थको पराकाष्ठाको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । आइतवारको बैठकमा गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरिएको बैठक आजका लागि बोलाइएको थियो । भने आजको बैठकमा पनि गणपूरक संख्या नपुगेपछि बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषद्को बैठकपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले बहुमत सदस्यका आधारमा संवैधानिक परिषद्को बैठक बस्न पाउने गरी अध्यादेश ल्याएका थिए । भने त्यसलाई तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् ।
यसअघि पनि प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसको व्यापक आलोचनापश्चात सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।
यो पनि
अध्यादेशबारे जनार्दन शर्माको आक्रोश : सत्ता स्वार्थको परकाष्ठा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया