हिमालयन चितुवा आइतवार ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता’ मा भिड्ने

काठमाडौं । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् । नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजाराँै खेलप्रेमी दर्शकको सहभागिता हुने बताइएको छ ।

अहिले उनी अन्तिम प्रशिक्षणमा व्यस्त छन् । युवा समाजसेवी रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल आफ्ना बुबाकै विशेष प्रतिक्षणमा व्यस्त रहेका छन् ।

हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आउनुभएको छ । “मेरो प्रशिक्षणमा अविरल कडा मेहनतका साथ प्रशिक्षणमा छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा चुम्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने । उनका अनुसार कम उमेरमा सो प्रतियोगितामा भिड्ने अविरल पहिलो युवा बक्सर हुन्।

किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्ने छन् । बक्सर कुमुरा पनि बक्सिङ खेलका अन्तरराष्ट्रिय खेलाडी हुन् । अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप अन्तरराष्ट्रिय ख्याति कमाउने छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा रहँदै आएका छन् ।

बक्सर अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ । सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिने सौभाग्य पाएका थिए । उनी अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षकसमेत हुन् ।

अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहनुभएका रामनारायणले जानकारी दिए।

“अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि अविरललाई सरकार, खेलप्रेमी नेपाली जनताले थप उत्साह, हौसला तथा प्रोत्साहन भरिदिन म आग्रह गर्दछु ।” सामाजिक सञ्जालमा हालै देवकुमारले पोष्ट गर्दै भन्नुभएको छ ।

यसैगरी गैरआवासीय नेपाली सङ्घका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको जनाएका छन् ।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।

यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।

सामाजिक सञ्चालमा बक्सर अविरलले भनेका छन् “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु । यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस् । म के वन किक बक्सिङ प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु । यसका लागि म कठोर प्रशिक्षणका साथ अन्तिम तयारीमा छु ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?