जेब्राको ज्यानमा काला र सेता धर्सा हुनुको रहस्य यस्तो !

काठमाडौं । जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रंग दिएको छ । तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्जाएको छ ।

यस विषयमा ब्रिटेनको ब्रिस्टोल विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले गहिरो अध्ययन गरेपछि जेब्राको जिउमा हुने कालो र सेतो धर्का हुने कारण पत्ता लगाएका छन् ।

झिँगाबाट बचाउनका लागि प्रकृतिले जेब्रालाई जीउमा धर्का दिएको उनीहरूको अध्ययनले निष्कर्ष निकालेको छ । वैज्ञानिकको टोलीले केही घोडाहरूमा अध्ययन गरेका थिए । केही घोडालाई जेब्राको जीउमा हुनेजस्तो कालो र सेतो धर्का भएको कपडा ओढाइएको थियो भने बाँकीलाई केही पनि गरिएको थिएन ।

अनुसन्धाताहरूले धर्के कपडा ओढाइएको घोडाको जीउमा झिँगा नबसेको पाएका थियो । तर, घोडाको टाउको अर्थात् कपडा नभएको ठाउँमा भने झिंगा बसिरहेको थियो । जेब्राको जीउमा हुने कालो र सेतो धर्काहरूले रोग फैलाउने रगत चुस्ने कीरालाई टाढा राख्ने गरेको अध्ययनले निष्कर्ष निकालेको हो ।

जेब्राको जिउमा हुने कालो र सेतो धर्काहरूको कारण झिँगाको आँखा तिरमिराउने हुँदा झिँगाहरूको देख्ने क्षमतामा असर पुग्ने गरेको अनुसन्धानले देखाएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक टिम कारोले उक्त अध्ययनमा झिँगाहरू जेब्रानजिक पुगेपछि यत्तिकै टाढिएको हुँदा जेब्राको शरीरमा हुने सेतो र कालो धर्काहरूले झिँगालाई बाधा पुर्याउने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?