काठमाडौं – २०७५ साल जेठ ३ गते पार्टी एकता गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको संघारमा पुगेको छ ।
गत वर्ष फागुनभन्दा अगाडि पनि पार्टीभित्र केहि विवादहरू भएका थिए । तर ति पार्टी एकता प्रक्रियालाई लिएर देखिएको थियो । तर फागुनपछिको विवादले राष्ट्रिय राजनीतिलाई नै नकारात्मक प्रभाव पारिरहेको अवस्थामा पछिल्लो विवादले पार्टी गम्भीर मोडमा पुगेको हो ।
(यसअघि प्रकाशित यो समाचार क्लिक गरी पढ्नुहोस् : )
नेकपामा किन भेटिएन सञ्जीवनी बुटी, के प्रधानमन्त्रीको ‘कुर्सी भाँच्न’ चाहन्छन् ओली ?
त्यसो त पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच गत फागुनयता ५० पटक एक्ला-एक्लै र केही पटक अन्य केही नेता ‘साक्षी’ राखेर समेत छलफल भईसकेको छ । पछिल्लोपटक मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरुको नियुक्ती, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, पर्सामा भएको नेकपाका कार्यकर्ताको हत्या, भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको भेटघाटले अध्यक्षद्वयबीच विवाद चुलिएको थियो ।
विवाद चुलिएसँगै गत कार्तिक ४ गते यता ओली प्रचण्डबीच भेटघाट हुन सकेको थिएन । ओलीको एकलौटी निर्णयबाट चिढीएका प्रचण्ड र पार्टीका अर्का अध्यक्ष ओलीबीचको सम्बन्ध सुधारको प्रयासस्वरुप ओली निकटका नेताहरु निरन्तर प्रचण्ड निवासमा पुग्ने गरेका थिए ।
बालुवाटार बैठकका लागि नेताहरुले प्रचण्डलाई आग्रह गरेपनि ‘कोभिड – १९’ को कन्ट्रयाक ट्रेसिङमा रहेका कारण आफू जान नसक्ने भन्दै प्रचण्डले आलटाल गर्दै आएका थिए ।
यसैबीच लामो मौनताको स्थिती तोड्दै गत १५, कार्तिक (शनिवार ) दुईअध्यक्षबीच भेट भएको थियो ।
भेटमा सचिवालय बैठक बोलाउन प्रचण्डले गरेको प्रस्तावमा ओली सहमत भएको भन्ने खबरहरु बाहिरीएको भएता पनि त्यसो नभएको खुलेको छ ।
यसैबीच लोकपथ डटकमले पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी ‘पार्टीको पछिल्लो विवाद र घटनाक्रमका’ विषयमा ५ प्रश्न सोधेको छ ।
प्रवक्ता ज्यू, तपाईहरुको पार्टी फूट्न लागेको हो ? मिडिया र सामाजिक सञ्जाल निकै तातेको छ । खास कुरा के हो ?
त्यसो नभनिहालौँ । तर गम्भीर मोडमा पुगेको चाहिँ हो ।
तपाईको पार्टी अध्यक्ष प्रचण्ड केहि दिन अघि मात्रै सार्वजनिक कार्यक्रममा ‘कम्युनिस्टहरुको एउटै पार्टी बनाउनुपर्छ आउनुहोस्’ भन्दै पूर्व माओवादी नेताहरु (डाक्टर बाबुराम भट्टराई,मोहन वैद्य,नेत्र विक्रम चन्द ‘विप्लव’ लगायतका नेतालाई डाक्दै हुनुहुन्थ्यो त । अहिले फेरि दुई अध्यक्ष दुईतिर हुनुहुन्छ । कसरी, के कारण , पार्टी गम्भीर मोडमा पुग्यो ?
खासमा पार्टीका विभिन्न विवाद मिलाउनको लागि दुई अध्यक्ष यसअघि पनि धेरैपटक भेट भएको अवगत नै छ । हामीले पार्टीभित्रबाट सतहमा आएका विवाद देखि थाति रहेका कामहरु सक्न उहाँहरुको भेटघाट र घनिभूत छलफलमा नै जोड दियौँ ।
पछिल्लो पटक पार्टी अध्यक्षद्वयबीच गत कार्तिक १५ गते शनिवार बालुवाटारमा भएको भेटका क्रममा प्रचण्डजीले सचिवालय बैठक डाक्ने विषयमा ओलीजीसँग प्रस्ताव गर्नुभयो । प्रचण्डजीले सचिवालय बैठकको प्रस्ताव राख्दै यी सबै विषयहरुलाई सचिवालयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । तर अर्का अध्यक्षले सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटी बैठक किन बोलाउनुपर्यो ? भन्दै प्रतिप्रश्न गर्नुभएछ । बैठक नै नबोलाउने उहाँको आशयपछि विवाद झनै उग्र बनेको हो ।
त्यसो भए अब तपाईहरु के गर्नुहुन्छ ? हिजो बैठकमा के भयो कुरा ?
हिजो बादलजी सहित हामी ६ जना बसेर छलफल गरेका छौँ । यो एकता ख्याल-ख्यालमा फूट्न नदिनको लागि कसरतमा निरन्तर नै लागेका छौँ, हामी । हामीले भनेको कुरा पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्यो ।
विधि र पद्धतिको पालना गर्नुपर्यो भन्ने नै हो । अझै पनि हामी त्यहि कोशिसमा छौँ । यो गम्भीर मोडमा पुगेको परिस्थितीलाई ‘सेफ ल्याण्डिङ’ गर्नमा हामी जुटेका छौँ । प्रचण्डजी पनि एकता गरेरै जाने पक्षमा हुनुहुन्छ ।
पछिल्लो पटक तपाईको दुवै पार्टी अध्यक्ष लामो समयको मौनता तोड्दै भेट्नुभएको थियो । वार्तापछि मिडियामा सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्तावमा ओली सहमत भएको संकेत भन्दै खबरहरु बाहिरीएका थिए । के त्यसो भए पार्टी फूटाउने निर्णायक तयारी नै हो त प्रचण्डको ?
त्यसो होईन । दुई अध्यक्षबिच कुराकानी भएकै हो । हामीले पटक – पटक पार्टीमा देखापरेका समस्या समाधान गर्नका लागि भनेर दुवै अध्यक्षहरुलाई अनुरोध गरिरहेका छौँ । उहाँहरु भेट्नुभएपछि पार्टीभित्रै भएका तिक्तता हल हुन्छ र पार्टीका पूर्ववत् निर्णय कार्यान्वयन हुन्छ भन्नेमा हामी आशावादी थियौँ । तर पछिल्लो घटनाक्रमले त्यतातिर संकेत गरेको छैन ।
बुझ्ने भाषामा भनिदिनुहोस् – अब के हुन्छ ?
हामीले पहिलेदेखि नै यहि कुरामा जोडबल गरेका छौँ कि, पार्टीभित्र भएका निर्णयहरू कार्यान्वयन गर्नुपर्यो, विधि र पद्धतिसम्वत् रुपमा अगाडी बढ्नुपर्यो । एकता रक्षाको प्रयत्न हामी गरिनैरहन्छौँ । अध्यक्षद्वयसँग हामी सल्लाह, अनुरोध गरिरहेका छौँ ।
धन्यवाद् ! प्रवक्ताज्यू ।
धन्यवाद् !
एकताको केहि वर्षमा नै चरम असन्तुष्टि/ विवादमा फसेको नेकपा फूटको चर्चा चुलिँदै जान थालेपछि जनतामा थप निराशा बढेको छ । कोरोना महामारी नियन्त्रणमा ध्यान दिनुपर्ने सबै समय राजनीतिक किचलोमा रुमलिएको सत्तारुढ पार्टीप्रति सामाजिक सञ्जालमा पनि आक्रोश व्यक्त हुन थालेको छ ।
यद्यपी नेकपाभित्र देखिने गरेका अनेकन विवाद दुई अध्यक्षबीचको असमझदारीमा उत्पन्न भई केहि दिन माहोल तात्ने गरेको र उनीहरूबीचको सहमतिसँगै साम्य हुने गरेको सर्वविदीतै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया