भक्तपुरमा १६७ सहित काठमाडौं उपत्यकामा थपिए २१ सय २९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ५७७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । यो कुल संक्रमितको ६८.३ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २० हजार ८६७ जना र संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना छन् । तिमध्ये ३०७ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७९५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार ७७ जिल्ला मध्ये मनाङमा मात्र हालको अवस्थामा संक्रमित छैनन् । नेपाल कोरोनाको कारण खराब भएको विश्वहरुको सूचीमा टप ५० भित्र रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १८ जनाको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो ( सोमवार) नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४७३ जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?