एकै दिन ४ जनाको डुबेर मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा गरी ४ जनाको डुबेर मृत्यु भएको छ । नुवाकोटको बिदुर नगरपालिका-९ स्थित ईनटेक नहरमा डुबेर सोही नगरपालिका-८ बस्ने
४५ वर्षीय रंगनाथ रिजालको सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा आफन्तले खोज्दै जाने क्रममा घरदेखि ८ किलोमिटर टाढा रहेको उक्त नहरमा उनको शब फेला परेको हो ।

त्यस्तै, धनुषाको धनौजी गाउँपालिका-२ गोरदाहा बस्ने सुलिन्द्र सहनीको १८ महिनाको छोरा अंकित सहनीको पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । धनुषा बिदेह नगरपालिका-१ ठाँडीटोलस्थित मामाघर आएका उनी खेल्ने क्रममा उक्त पोखरीमा डुबेर अशक्त भएकोमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै, कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवा तालमा पौडी खेल्ने क्रममा डुबेर पोखरा महानगरपालिका-१० रंगशालास्थित टेनिस संघमा काम गर्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-९ घर भएका २२ वर्षीय सुरज नगरकोटी सोमबार दिउँसो मृत्यु भएको छ । उक्त तालमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी गण मुका पोखराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त तालमा उनको शव फेला पारेको हो ।

यसैगरी, सिरहाको नरहा गाउँपालिका-३ बस्ने श्रवण यादबको १ वर्षीय छोरा भोला यादबको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । घर अगाडि रहेको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?