नेपालका बिलिनियर विनोद चौधरीले कति तिर्छन् राजश्व ?

काठमाडौं । राजस्व विभागको तथयाङ्क अनुसार बिलिनियर विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले गत ४ वर्षमा ३९ अर्ब रुपैयाँ भन्दा धेरै राजश्व बुझाएको जानकारी गराएको छ ।

सरकारले उठाउने राजश्वमा चौधरी ग्रुप आबद्ध संस्थाहरुले झन्डै २ प्रतिशतको योगदान गर्दै आइरहेको आन्तरिक राजश्व विभागको तथ्याँकले देखाएको छ । चारवर्षमा चौधरी गु्रपका आफ्नै र आबद्ध कम्पनीहरुले ३९ अर्ब १० करोड ५३ लाख रुपैयाँ राजश्व बुझाएको छ । ग्रुपले ‘इनहाउस’बाट ३१ अर्ब १४ करोड ४३ लाख र आफूआवद्ध कम्पनीमार्फत ७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ राजस्व राज्यकोषमा दाखिला गरेको पाइएको छ ।

आन्तरिक राजश्व विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३–०७४ मा ५ अर्ब ८९ करोड ६१ लाख रुपैयाँ राजश्व दाखिला गराएको थियो । सोही वर्ष आफू आवद्ध कम्पनीबाट ग्रुपले १ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ राजश्व बुझाएको हो । त्यसैगरी, आर्थिक वर्ष २०७४–०७५ मा ग्रुपबाट ७ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ राजस्व बुझाएको छ । आफूआवद्ध कम्पनीबाट सोही वर्ष २ अर्ब ३ करोड १० लाख रुपैयाँ राजस्व बुझाएको थियो ।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार २०७५–०७६ मा ग्रुपले ९ अर्ब ५७ करोड ३० लाख रुपैयाँ र ग्रुपआवद्ध कम्पनीले २ अर्ब १० करोड २९ लाख रुपैयाँ राजश्व बुझाएको छ । आर्थिक वर्ष २०७६–०७७ मा ग्रुपले ८ अर्ब ३ करोड ३ लाख रुपैयाँ बुझाएको देखिएको छ । चौधरी ग्रुपअन्तर्गतका कम्पनीले १ अर्ब ८४ करोड १९ लाख रुपैयाँ राजश्व बुझाएको हो ।

ठूला करदाता कार्यालय र आन्तरिक राजश्व विभागले उपलब्ध गराएको तथ्यांक अनुसार २०७३–०७४ मा ३१ करोड १५ लाख रुपैयाँ आयकर बुझाएको छ । त्यसपछिका दोस्रो र तेस्रो आर्थिक वर्षमा निरन्तर ३८ करोड ४६ लाख र ४० करोड ५१ लाख रुपैयाँ आयकर बुझाएको तथ्यांकमा देखिएको छ । तर, गत आर्थिक वर्षमा भने कोरोना भाइरसका कारण अर्थतन्त्रमा मन्दी देखिएको र त्यसको प्रत्यक्ष असर परेकाले झण्डै ५० प्रतिशत आयकर घटेको छ । तथ्यांक अनुसार गत आर्थिक वर्षमा २२ करोड ४६ लाख रुपैयाँ आयकर बुझाएको छ ।

ग्रुपले चार वर्ष अघि २ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ अन्तशुल्क बुझाएको छ । त्यसको पछिल्लो वर्ष ग्रुपले झण्डै एक अर्ब भन्दा बढी अर्थात ३ अर्ब २६ करोड १६ लाख रुपैयाँ अन्तशुल्क बुझाएको आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांकबाट देखिएको छ । आर्थिक वर्ष २०७५–०७६ र २०७६–०७७ मा क्रमश ४ अर्ब ६३ करोड ४ लाख र ३ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ राजस्व दाखिला गरेको देखिएको छ । कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले गत आर्थिक वर्षमा भने अन्तशुल्क घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?