श्रीमानले ननुहाएको भन्दै पत्नीले डिभोर्स मागेपछि…

काठमाडौं । भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएकै कारण पतिसँग सम्बन्धविच्छेद मागेकी छन् ।

वैशालीमा बस्ने २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण सम्बन्धविच्छेद मागेकी हुन् ।

विहारको महिला आयोगमा उजुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ । यदि दुई महिनासम्म पनि मनिषले बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

आयोगकी अध्यक्ष दिलमणि मिश्रले सोनीले पतिबाट सम्बन्धविच्छेदको लागि अनुरोध गरेको बताएकी छिन् ।

मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो । मनीष पलम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेकी थिइन् ।

उनले भनिन् ‘मनिषले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ ‘१० दिनमा एकदिन उसले नुहाउँछ । साथै पतिको जस्तो व्यवहार पनि गर्दैन।’

सोनीले पतिसँग कुनै पनि सर्तमा आफू बस्न नचाहेको बताएकी छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?