काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप ६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा आईतवार थपिएका ७६७ जना कोरोना संक्रमित मध्ये ६०२ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनासहित देशभर ४६९ महिला र ८५६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ९६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४७८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ४०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७१ जना छन् । तिमध्ये १९० जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४५१ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४११ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।
हिजो शनिवार नेपालमा १ हजार २०४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४४७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया