Update : विश्वभर ६ सय ४५ जना नेपालीको कोरोनाबाट मृत्यु, १ लाख ८ सय ३१ जनामा संक्रमण

काठमाडौं – विश्वव्यापी महामारी कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणबाट विदेशमा यो साता थप १ जना नेपालीको मृत्यु पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए ।

स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४५ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ७२ दशमलव ०८ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।

६९ हजार २ सय ८९ जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?