मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउनु भएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी उनले संकटकाल घोषणा गरेका थिए ।
घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । संकटकाल लम्याउने विषयमा शुक्रवार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागू हुनेछ ।
यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ ।
फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।
महामारीबाट भइरहेको मानवीय क्षति न्युनिकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए ।
फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट तीन हजार २५७ जना संक्रमित भएका छन् । योसँगै कुल संक्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ । ती मध्ये दुई लाख आठ हजार ७९० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी कोरोना भाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया