काठमाडौं – आज नागपञ्चमी । नेपाली हिन्दू र बौद्ध धर्म तथा परम्परामा सर्पलाई पवित्र मानिन्छ । त्यसैले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको विशेष पूजाआजा हुन्छ। आफ्ना घरमा सर्प बिच्छी चट्याङ जस्ता समस्या नआओस् भनेर मानिसहरु मूलद्वारमा नागको चित्र अंकित फोटो टाँस्ने गर्छन् ।
मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ जुलाई १६ मा विश्व सर्प दिवस मनाउने गरिन्छ ।
विभिन्न लेखहरुमा उल्लेख भएअनुसार संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्। सर्पहरु मांसाहारी हुन्। यिनीहरुले जिउादो जीव मार्छन् र सग्लै निल्छन्। यिनीहरुको दाँत हुन्छ तर दाँतको प्रयोग खानेकुरा माथितिर तान्न प्रयोग गर्छन् । यिनीहरुले आफ्नो शत्रुहरुलाई बेस्सरी अठ्याएर सास फेर्न अप्ठ्यारोमा पारेर मार्ने गर्दछन्। यिनीहरुको अस्तित्व यस पृथ्वीमा एक करोड वर्ष अघिदेखि रहेको वैज्ञानिकको अनुमान छ ।
नेपालमा अहिलेसम्म ८३ प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए अझै धेरै भेटिने विज्ञहरु बताउँछन् ।
धेरैलाई सर्पसँग डर लाग्छ । विश्वभर ३ जना मानिसमध्ये १ जना सर्प देखेर डराउँछन् । यसलाई ओफियोफोबिया वा हर्पटेफोबिया भनिन्छ। तर अचेल सामाजिक सञ्जालमा सर्प खेलाएको, नचाएको, सर्वसँग विवाह गरेको, यसको मासु खाएको जस्ता समाचार र भिडियो क्लिप्सहरु पनि आईरहन्छन् ।
सर्प र पर्यावरणको अन्योन्याश्रीत सम्बन्ध जोगाउन धेरै मानिस सर्पको अनुसन्धान र संरक्षणमा लागेका छन् । उनीहरु भन्ने गर्छन् – “सर्पले आफूलाई अफ्ठयारो अवस्था नपरेसम्म टोक्दैन।”
सर्पका बारेमा केही रोचक प्रसंग यहाँ प्रस्तुत गरेका छौँ ।
अन्टार्टिकाबाहेक हरेक महादेशमा सर्प पाइन्छ ।
वैज्ञानिकहरूका अनुसार सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।
मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्। सर्पदंशकै उपचारमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ पनि सर्पको विषबाट बनाइन्छ।
भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ। त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ।
हर्पिटोलोजिस्ट जीजस रिवासका अनुसार गार्टर स्नेक एक पोथी सर्पसँग संसर्गका लागि एक सयभन्दा बढि भाले सर्प पिछा गर्ने गर्छन् । उनीहरु पोथीको वरिपरि लट्पटिरहन्छन् । र सम्भोग गर्दछन् । सर्पबीचको सम्भोगका बेला पोथी हाबी हुने अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकामा सन १९७५ मा सर्प विज्ञ कार्ल स्मीडले विषालु सर्पले टोकेपछि मृत्यु हुन्छ भन्ने थाहा हुँदा हुँदैपनि अस्पताल नगई सर्पको असरबारे लेख लेखेका थिए। पछि उनको मृत्यु भयो ।
सर्पहरु जिब्रोको माध्यमले सुँघ्ने गर्दछन्। यीनिहरु सुन्न सक्दैनन् तर हावा वा जमीनमा हुने चालको अनुभव गरेर प्रतिकृया जनाउने गर्दछन्। यिनीहरुको घ्राणशक्ति निकै राम्रो हुन्छ ।
अफ्रिकामा मरेका आफन्तले सर्पको जुनी लिएर फेरि जन्मिन्छन् भन्ने विश्वास गरिन्छ।
चीनमा सर्पको रक्सीलाई सबै रोगको अचुक औषधिको रुपमा लिइन्छ।
नेपालमा सर्पलाइ मारेपनि यसले फोटो खिचेर राख्ने र पछि टोक्न आउँछ भन्ने सोचले धेरैले मरेको सर्पलाई टुक्राटुक्रा पार्ने र टाढा लगेर फाल्ने गर्छन् ।
सर्पको आँखामा परेलाहरु हुँदैनन् तयसैले यिनीहरु सुत्दा आँखा खोलेरै सुत्छन्।
संसारको सबैभन्दा ठूलो सर्प ‘एनाकोन्डा’ हो जुन २७० किलोसम्मको तौल र ९ मिटरसम्मको लम्बाईको हुन्छ ।
सबैभन्दा खतरनाक तथा विषालु सर्पहरु अस्ट्रेलियामा पाईन्छन्।
सर्पका २०० वटासम्म दाँतहरु हुन्छन्। जुन टोक्नको लागि नभई आहारालाई भित्रतर्फ तान्न र आहारालाई फुत्कन नदिनको लागि मात्र प्रयोग हुन्छ।
७० प्रतिशत सर्पहरुले फुल पार्छन् तर बाँकीले भने बच्चा समेत जन्माउने गर्दछन्।
दक्षिण–पुर्वी एशियामा, दक्षिण चीन, भारत र श्रीलंकामा सजिलै हावामा उड्ने सर्प पाईन्छ । यो सर्पमा बिष कम हुने विज्ञले बताएका छन् । यसमा छिटो चल्न सक्ने क्षमता पनि हुन्छ । र यो प्रजातिको सर्प आफ्नो शरीरको सेप अर्को बनाएर जम्प गर्दछ । हावामा यिनीहरु तेर्सो परेर उड्छन् ।
‘इलापिडी’ परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन् । यस्ता सर्प नेपालमा पनि पाईन्छन् ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, सर्प विज्ञका अन्तर्वार्ता र आलेखमा आधारीत रहेर यो सामाग्री तयार पारीएको हो।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया