शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? एकपटक हेर्नुहोस् पीटर लिञ्चका शुत्रहरु

काठमाडौं । अमेरिकी लगानीकर्ता पीटर लिञ्चलाई लगानीको दुनियाँमा सफल र ठुला खेलाडीका रुपमा लिइन्छ । उनी ठुलो फण्ड व्यवस्थापनमा पनि सहभागि रहेका हुन्, जसका कारण उनको लगानीको शैली र तरिकाले नै लिञ्चलाई संसारकै ठुला र सफल लगानीकर्ताको रुपमा लिने गरिएको छ । दीर्घकालिन लगानीको नीति अख्तियारी गर्न लगानीको दुनियामा अधिक सफल मानिएका पीटर लिञ्चका केही लगानी शुत्र यहाँ प्रस्तुत गरिएको छ । जहाँ राम्रो शेयरको छनौट गरेर लामो समयमा आकर्षक प्रतिफल पाउने लिञ्चको सुझाव समेटिएको छ ।

अमेरिकामा एमबिएसम्मको अध्ययन गरेका पीटरले सन् १९७७ देखि १९९० को १३ वर्षे अवधिमा फेडेलिटी मेगलान फण्डमा हरेक वर्ष २९ प्रतिशतका दरले चक्रीय प्रतिफल पाएका थिए ।

पिटरका केही चर्चित लगानीका उदाहरणहरुमा फ्लाइङ टाइगर, एप्पल, डनकिन डोनट्स्, टेको बेल तथा फेनी जस्ता शेयरहरु पर्छन् । उल्लेखितमध्ये केही कम्पनीको शेयरमा पिटरले लगानी गरे पछि ‘मल्टीबेगर’ अर्थात शतप्रतिशतभन्दा धेरै प्रतिफल दिने कम्पनी बनेका थिए । फ्लाइङ टाइगरमा गरेको लगानीको प्रतिफलबाट नै पीटरले आफ्नो अध्ययन पुरा गरेका थिए ।
यस्ता छन् उनका लगानीका शुत्रहरु:

१. राम्रा कम्पनीको छनौट

पीटर लिञ्चको पहिलो लगानी सुझावमा राम्रा कम्पनीको छनौट पर्छ । जस अनुसार लगानीकर्ताले आफ्नो लगानी कस्तो कम्पनीमा गरिँदैछ रु कुनै एउटा कम्पनीमा नै किन लगानी गर्ने रु भन्ने कुरामा प्रष्ट हुन जरुरी छ । लगानी गर्नका लागि कुनै कम्पनी छनौट गरिएको छ भने उस्तै प्रकृतिको अर्को कम्पनीको वित्तीय अवस्था कस्तो छ भनेर तुलनात्मक अध्ययन गर्दा थाहा नभएका कतिपय विषयहरु खुल्छन् । लगानी गर्न चाहेको कम्पनीको फण्डामेण्टल विषयहरुको बारेमा जानकारी लिनु पर्छ । र आवश्यक परेको खण्डमा विष्लेशकहरुसँग उक्त कम्पनीको बारेमा जानकारीहरु लिनु पर्छ, न कि लगानीको जानकारी ।

पीटर लिञ्चले भनेका छन् कि उनले लगानी गरेर धेरै सफलता हासिल गरेका कम्पनीहरुको बारेमा धेरै भन्दा धेरै जानकारी तथा सूचनाहरु उनी आफैंले खोजेर लगानीको निर्णय गरेका थिए ।

२. शेयरको वर्गीकरण

आफ्नो लगानी भएको शेयरलाइ वर्गिकरण गर्दा कुन शेयरबाट कति प्रतिफल लिने भन्ने योजना बनाउन सजिलो हुन्छ । यसमा तपाईले आफ्नो लगानीलाई ६ भागमा वर्गिकरण गर्न सक्नुहुन्छ । ती मध्ये उच्च दरमा मूल्य वृद्धि हुने शेयर, निकै सुस्त गतीमा मूल्य बढ्ने शेयर, दिर्घकालीन रुपमा प्रतिफल दिने शेयर, कुनै निश्चित उत्पादनले कम्पनीलाइ नै परिवर्तन गरेको संस्थाको शेयर, चक्रिय शेयर र सम्पत्तीलाई चलायमान बनाइराख्ने शेयर गरेर ६ भागमा वर्गिकरण गर्न सक्नुहुन्छ । यदि तपाइसँग १० कित्ता सेयर छ भने ४ कित्ता तिब्र वृद्धि हुने, ४ कित्ता कुनै उत्पादनले कम्पनीको प्रतिलफललाई नै परिवर्तन गर्ने, २ कित्ता सुस्त वृद्धि गर्ने गरी विभाजन गर्नु पर्ने हुन्छ । यसले शेयरको लगानीमा हुन सक्ने जोखिम न्यूनीकरणमा मद्दत गर्छ ।

३. कम्पनीको मूल्यांकन

तपाईले लगानी गर्न चाहेको शेयर मूल्यको अवस्थालाइ मूल्याङकन गर्नु पर्छ । त्यसका साथै कम्पनीलाइ मूल्यवान के कुराले बनाएको छ ? त्यसका साथै आगामी दिनमा उक्त शेयरको मूल्य कहाँसम्म पुग्न सक्छ भन्ने अनुमान लगाउनु पर्ने हुन्छ ।

यसमा आफुले शेयर खरिद गरेको कम्पनीले खर्च वढाएको छ की छैन, कम्पनीले सीमामा रहेर खर्च गरेको छ वा यत्रतत्र खर्च गरेको छ भन्ने हेक्का राख्नु पर्ने हुन्छ । यसका साथै कम्पनीले आफ्ना उत्पादहरुमा कति नयाँपन ल्याएको छ र त्यसले समय समयमा शेयरको मूल्य बढाएको छ की छैन भन्ने कुरालाई ध्यानमा राख्नु पर्ने हुन्छ ।

४. आफ्नो लगानीको मुल्याङकन

शेयरमा लगानी गरे पछि चुप लागेर बस्ने बानी सबैभन्दा घातक हुन्छ । लगानी गरेपछि समय समयमा आफ्नो लगानीको मूल्याङकन गर्नुका साथै लगानी गरेको कम्पनीको सूचना तथा नयाँ जानकारीहरुका बारेमा पनि जानकार भैराख्नु पर्छ । जस्ले भविष्यमा हुन सक्ने लाभ वा नोक्सानीको अनुमान गरि छिटो निर्णय गर्न सहयोग मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?