जनगुनासोमा कमी ल्याउन प्रहरीको आचरण सुधार जरुरी

लोकपथ
0
Shares


काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए ।

वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए । कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरे नगरेको उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन मूल्यांकनलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकले राख्ने गुनासोमा स्वतः कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई उनले निर्देशन दिएका छन् ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुती गरेका थिए ।

प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘अपराध अनुसन्धान दिग्दर्शन’ पुस्तकको विमोचन पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?