बाख्रा चोरी गरेको आरोपमा गाडीसहित दुई पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का स्थानीय किसानको बाख्रा र बोका चोरीमा संलग्न दुई जनासहित दुई गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोशी गाउँपालिका–७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीन बोका र चार बाख्रा चोरी गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका वडा नं ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका–२ रविओपीका डिलबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

सो अवसरमा बाख्रा र बोका चोरीमा प्रयोग गरेको बा१६च ८८३० नंको बोलेरो र बा१४च ६८५७ नंको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुवै जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?