काठमाडौं – नेपालका तर्फबाट एकीकृत धारणा बनाउन सबै दलको राय लिने उद्येश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठकले भारतले लिपुलेकमा खनेको सडकको भू-भाग नेपालको भएको र उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्नेमा बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुको एकमत रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने भन्दै ‘सरकार अविलम्ब वार्ता होस् भन्ने पक्षमा रहेको धारणा राखे ।
भारतसँग आफूहरुले असल सम्बन्ध राख्न चाहेको, कोरोना नियन्त्रणमा भारतले गरेको सहयोग सकारात्मक भएपनि कोरोनाकै बेला भारतले लिपुलेकमा सडक निर्माण गरेर उद्घाटन गर्नु ठिक नभएको प्रधानमन्त्रीको भनाइ उदृद गर्दै बैठकमा सहभागि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सञ्चारकर्मीसँग भने – “नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन सकिदैन भन्नेमा बैठकमा सहभागी सवै दलका प्रतिनिधिहरुको एकमत छ ।”
सबैको मत सुनेपछि प्रधानमन्त्रीले भने – ‘‘पुर्खाहरुले लडेर बनाएको र पुर्खाहरुले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ । हामीले थप लड्नु जरुरी छैन तर विगतमा भएका उपलब्धिहरुमा दृढतापूर्वक रहनुपर्छ । सरकार सबै राजनीतिक दल र जनताहरुको साथ लिएर अगाडी बढ्नेछ । भारतसँग असल मित्रता चाहान्छौँ तर त्यसका लागि नेपालको आफ्नो भूमिको रक्षा र आफ्नो राष्ट्रिहितको रक्षा सर्वोपरि हुन्छ प्राथमिकता हुनेछ ।’’
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने मत राखेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट भएका कामहरुबारे बैठकमा जानकारी गराएपछि सबैले सुझावसहित धारणा राखेका थिए ।
आज बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका हुन् ।
भारतसँगको सीमा समस्या समाधान गर्न कुटनीतिक वार्ता नै उपयुक्त हुने सुझाव नेताहरुले दिएका हुन् । समस्या समाधानका लागि सरकारले चालेका हरेक कदममा साथ दिने वचन दिँदै नेताहरुले सरकारलाई आफ्नो अडान कायम राख्न भनेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । जनतालाई साथ लिएर अगाडी बढ्न पनि नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको सुझाव अनुसार कुटनीतिक वार्ता एकमात्रै समस्या समाधानको विकल्प भएको र सरकार अविलम्व वार्ता गर्ने पक्षमा रहेको बताए ।
वार्ताका लागि भारतले कोरोनालाई कारण बनाएपनि कोरोनाकै कारण वार्ता नरोकिने प्रधानमन्त्रीको भनाई छ । ‘‘सीमामा समस्या छ भनेर उसै (भारत) ले भन्ने । सडक उद्घाटन गर्न कोरोनाले नरोक्ने तर वार्ता गर्न कोरोनाले रोक्ने कुरा राम्रो भएन। भारतले प्रशासनिक अधिनमा राखेको ठाउँमा बाटो बनाएको कुरा विभिन्न माध्यमबाट थाहा भयो । थाहा हुने वित्तिकै प्रतिवाद पनि गरियो । नटुंगिएको आफै भन्ने अनि आफैले काम नगर्नुपर्ने थियो तर भयो । अब वार्ताका लागि भारत जुन तहमा तयार हुन्छ । हामी त्यसैअनुसार वार्ता गर्न तयार छौँ । हामी छिटो भन्दा छिटो वार्ता गर्न चाहन्छौँ ।
बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदि नै सीमा नदि भएको र सीमा समस्या समाधानका लागि भारतसँग मात्रै नभएर चीनसँगपनि कुटनीतिक वार्ता गर्नुपर्ने सुझाव आफुले दिएको बताए । यसैगरी एमसीसी पास गर्ने विषयमा पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको उनले बताए । उनले विदेशमा रहेका स्वदेश फर्किन चाहने नागरिकलाई सुरक्षित रुपमा स्वदेश ल्याउन पनि सरकारलाई आग्रह गरेको छन् ।
बैठकपछि सञ्चारमाध्यमसँग देउवाले भने ‘‘काली नदि नै सीमा नदि हो । कालापानी हाम्रो हो भनेर पहिले देखिनै हामीले भनेकै हौँ । भारतीय प्रधानमन्त्री चीन जाँदा लिपुलेक नै नाका मानेको हुनाले दुबै देशलाई नेपालको भूमि हो भन्ने र कुटनीतिक प्रयास गर्ने हो । बैठकमा एमसीसी पास गर्नुपर्ने कुरा उठाए । नेपालको हितमा छ । सबैभन्दा बढी आर्थिक सहायता प्राप्त भएको परियोजना हो भनेर प्रधानमन्त्रीलाई भनेको छु ।’’
बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सीमा समस्या समाधानका लागि सरकारले नेपाली जनतालाइ विश्वसमा लिएर अगाडी बढ्नुपर्ने बताए ।
राष्ट्रियताको पक्षमा सबै नेपाली जनता र सबै पार्टीले साथ दिने भएकाले जनतालाइ साथमा लिएर जानुपर्ने सुझाव आफूले लिएको उनको भनाई छ ।
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित २४३ पुगे
सर्वदलिय बैठकमा कोरोना सचेतना : खुट्टामा ‘सुज कभर’, अनुहारमा मास्क !
नेपालमा कोरोना : पुरुष संक्रमित धेरै, कुन प्रदेशमा कति पुगे (विवरणसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया