काठमाडौं – कपिलवस्तु जिल्लालाई सिल गरिएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समिति बैठकले आज (सोमबार) दिउँसो गरेको निर्णयबमोजिम साँझ ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि सिल गरिएको हो ।
कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । उनीहरु सवै भारतको महाराष्ट्रबाट आएका हुन् ।
सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि कपिलवस्तु जिल्लाले यस्तो बोल्ड निर्णय लिनुपरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ३ क र संक्रामक रोग ऐन २०२० को दफा २ १ बमोजिम जिल्लामा हुने सवै गतिविधि, ओहोरदोहोर र क्रियाकलापलाई पूर्ण रोक लगाईएको छ ।
यद्यपी खाद्यान्न र तरकारी किनमेलका लागि भने विहान ७ बजे देखि ९ बजेसम्मको समय कायम गरिएको छ।
यस अवधिमा जिल्लामा अति आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने साधनहरु जिल्लाभित्र रोक्न पाइने छैन। जिल्ला भित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका उद्योगधन्दा तथा कलकारखानाहरुलाई पूर्ण रुपमा रोक लगाइएको छ।
पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेपछि यस्तो निर्णय लिइएको हो । सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवै प्रकारका सवारी साधनका पासहरुलाई यसै निर्णयबाट निष्क्रिय पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
१२१ जना संक्रमित, ३३ जना निको भए :
आज (सोमबार) थपिएका ११ जना सहित नेपालमा हालसम्म १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफ्रिङमा दिईएको जानकारीअनुसार कपिलवस्तुका १० जना पुरुष (उमेर समूह १८ देखि ३४) र सप्तरीका एक युवामा संक्रमण पुष्टि भएपछि नेपालमा हालसम्म संक्रमितको संख्या १ सय २१ पुगेको हो ।
हालसम्म पु्ष्टि भएका संक्रमितमध्ये ८९ जना पुरुष र ३२ महिला छन् । ति मध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी ८८ जना संक्रमितहरुमध्ये विरगंजमा २८ जना, विराटनगरमा १९ जना, रुपन्देहीमा १४ जना, नेपालगन्जमा २४ जना भरतपुरमा १ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ ।
संक्रमितमध्ये प्रदेश १ का ३५ जना, प्रदेश २ का ३२ जना, वाग्मती प्रदेशका ७ जना, गण्डकी प्रदेशका ७ जना गण्डकी प्रदेशका २ जना प्रदेश ५ का ४० जना र सूदुरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।
हालसम्म नेपालमा २ महिनादेखि ८८ वर्षउमेरसमूहसम्मलाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म नेपालमा पिसीआर विधीबाट १७ हजार ८ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । केहि दिनअघि विदेशबाट परीक्षणको लागि किट ल्याएसँगै परीक्षण्को दायरा पनि बढेको छ । त्यस्तै आरडिटी विधीमार्फत् हालसम्म ५८ हजार ५ सय ४६ जनाको परीक्षणगरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ७ सय९९ वटा जाँच गरिएको छ ।
आरडिटी विधीमार्फत् प्रदेश १ मा ७ हजार ७ सय ३७, प्रदेश २ मा ५ हजार ९ सय २७, वाग्मती प्रदेशमा ९ हजार २ सय ९०, गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४, प्रदेश ५ मा ६ हजार ९ सय ८५ कर्णाली प्रदेशमा ७ हजार १ सय १४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा परीक्षण गरिएको छ ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म नेपालमा १२ हजार ७ सय १ जना क्वारेन्टाईनमा बसेका छन् । प्रदेश १ मा १ हजार ४७ जना, प्रदेश २ मा १ हजार ५ सय १७ जना, वाग्मती प्रदेशमा १ सय १८ जना, गण्डकी प्रदेशमा ३ सय १६ जना, प्रदेश ५ मा ४ हजार ९ सय ८५ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ जना र सुदूपश्चिम प्रदेशमा ३ हजार १५ जना रहेका छन्।
त्यस्तै आईसोलेसनमा हुनेको संख्या हालसम्म १ सय ५३ हो । त्यसमध्ये प्रदेश १ मा २४ जना, प्रदेश २ मा ३९ जना, वाग्मती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा १ जना प्रदेश ५ मा ६३ र काठमाडौंमा १ जना गरी १५३ जना शंकास्पद बिरामी उपचाररत छन् ।
प्रवक्ता देवकोटाले दिएको जानकारीअनुसार हालसम्म आफूलाई कोरोना भाइरस ‘कोभिड – १९’ सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै मन्त्रालयको वेवसाईटमा विवरण भराउनेको संख्या ३४ हजार ५ सय १९ रहेको छ । गत २४ घण्टामामात्रै यसरीफारम भर्नेको संख्या २ सय ६२ रहेको छ । गत २४ घण्टामा २ जना रेड जोनमा परेका छन् । मन्त्रालयको विवरणअनुसार हालसम्म ३ सय ४२ जना रेड जोनमा परेका छन् । तिनको कन्ट्र्याक ट्रेसिङ गर्न थालेको मन्त्रालयले जनाएको छ ।
विश्वभर स्वास्थ्य चुनौतिको रुपमा देखा परेको महामारीबाट बच्न सरकारले लकडाउनको नीति अबलम्बन गरेतापनि रातारात भारतिय भूमिबाट नेपाल प्रवेश गरेका व्यक्तिमा कोरोना संक्रमण देखिनु र भारतमा संक्रमितको संख्या बढ्नुले नेपालमा अर्को चुनौति पनि थपिएको अनुमान गर्न सकिन्छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ८४ हजार १५० जनाको मृत्यु भएको छ भने ४२ लाख ९५७ जनामा संक्रमण भएको छ । १५ लाख २ हजार ५९५ जना स्वास्थ्य उपचारपछि निको भएका छन् भने विश्वभर ४७ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
लकडाउनमा पनि अरु बेला जस्तै ट्राफिक जाम ? (फोटोफिचर)
सुदूरपश्चिम प्रदेशमा छैनन् कोरोना संक्रमित
कोरोना संक्रमित देशको सूचीमा रुस तेश्रो स्थानमा : आजमात्रै थपिए ११ हजार भन्दा धेरै संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया