रवीन्द्र मिश्रको कविता – ‘तिम्रो र मेरो नाममा’

काठमाडौं – आज मे १ तारिक अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस।

अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने यो दिवस यसपटक विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण खतरा हुने कारण यसपाली कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसैले सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।
यस्तै नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनपछि मे दिवस मनाइन थालिएको हो। तर कोरोनाको कारण यसपाली कुनैपनि कार्यक्रम आयोजना गरिएका छैनन् ।

यसैबीच साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले श्रमिकका नाममा सम्बोधन गर्दै लेखेको कविता यहाँ प्रस्तुत गरीएको छ ।

‘तिम्रो र मेरो नाममा’

तिमीलाई थाहा छ, मित्र?
सन्सारका सुन्तरतम् शब्दहरू शायद
तिमी र मबारे लेखिएका छन्
तिमी र मजस्ता अर्बौँ मान्छेहरू
ठूला, ठूला विद्वानका विचार, र
अनुसन्धानका विषय भएका छन्

तिम्रो र मेरोलागि
रक्तिम युद्धहरू लडिएका छन्
ठूला-ठूला नेता
तिम्रो र मेरो गर्भबाट जन्मिएका छन्
याद गर त, तिनको आगोजस्ता भाषणमा
उनीहरू होइन, तिमी र म दन्किएका छौँ
विचार गर त, तिनको विचारको गहिराईमा
उनीहरू होइन, तिमी र म चम्किएका छौँ

तिम्रो र मेरो नाममा तिनले आकाशबाट
कहिल्यै नझर्ने चन्द्रमा झारिदिए
तिम्रो र मेरो नाममा तिनले धर्तीबाट
कहिल्यै नउड्ने सपना उडाइदिए
तिमी र म महान काव्यका अङ्ग बनेका छौँ
तिमी र म महान कलाका रङ्ग बनेका छौँ
हाम्रो आँशु संगीत बनेर झन्क्रित भएको छ
हाम्रो जीवन रङ्गमञ्चमा मञ्चित भएको छ

संझ त एक पटक
हाम्रा खिया परेका हात र सुकेका नलिखुट्टा
हाम्रा टाक्सिएका छाति र च्यातिएका धोती
गरिवीको कर्दले छिया, छिया पारेको मुहार
उमेर नै नपुगी बुड्यौलिएको अनुहार
संझ त एक पटक

तिमीलाई र मलाई जिवन्त उतार्ने
ती लेखक, कवि, चित्रकार
साहित्यकार अनि संगीतकार
ती अनकौँ विद्वान र विचारक, सबैले
ठूलाठूला पुरस्कार पाएका छन्
मञ्चमा माला लाउँदा नि

हाम्लाई नै संझिएर भावुक भएका छन्

तर साथी तिमी र म
पानीको एक घुट्काले धानेको सासमा
कहिल्यै नभेटिने लक्ष्यको आशमा
हिँडेको हिँड्यै छौँ,हिड्यै छौँ
लक्ष्यमा ती पुगे
जो तिम्रो र मेरो कथा लेख्छन्
लक्ष्यमा ती पुगे
जो तिम्रो मेरो व्यथा बेच्छन्
तिमी र मचाहिँ
कहिल्यै नपुगिने गन्तव्यको आशमा
हिँडेको हिड्यै छौँ।

***

यसअघि लोकपथ डटकममा प्रकाशित मिश्रको यो कविता छुटाउनुभएको थियो कि ?

रवीन्द्र मिश्रको कविता- ‘सर्वाहाराको नेतृत्व’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?