फ्ल्यास ब्याक टू २०७६, यस्तो रह्यो समग्रमा खेल क्षेत्र

काठमाडौं । २०७६ साल नेपाली खेलकुदका लागि तुलनात्मक रुपमा सुखद वर्ष रह्यो । नेपाली खेलकुद जगतले सफलता हात पारेको कारण पनि यो सुखद भएको हो । तर गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएका कारण गत वर्षको अन्तिम महिना निकै भयवित भएर समय बित्यो । महामारीका कारण देशभर लकडाउनको अवस्था छ ।

नेपाली खेलकुदका सबैखाले गतिविधि ठप्प भएका छन् । टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाडी घरमै रहन बाध्य छन् । २०७६ सालको मुख्य सफलता नेपालका लागि ओलम्पिक सरह मानिने १३ औं दक्षिण एसियाली खेलकुद भब्य र सफल आयोजना हुनु नै हो । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण आफ्नो पोल्टामा पारेको थियो । त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि २०७६ सालमै सम्पन्न भयो जसले खेल क्षेत्रको उन्नतिमा अर्को ईट्टा थप्यो ।

१३ औं सागलाई फर्केर हेर्दा

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भब्य र सफल रुपमा सम्पन्न भएको थियो । आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको समापनलाई समेत भव्य बनाएका थिए । गत डिसेम्बर १ देखि औपचारिक रुपमा सुरु भएको १३औं (साग) को अन्तिम तथा १० औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा भएको थियो ।

अन्तिम दिनसम्म भारत १ सय ७१ स्वर्ण सहित पदक हात पार्दै पहिलो स्थानमा रहेको छ । आयोजक नेपालले ५१ स्वर्ण पदक हात पार्दै दोस्रो स्थानमा कब्जा जमाएको छ । नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवको मंसिर १५ गते औपचारिक उद्घाटन भएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन समारोहका बिच सुरु भएको थियो । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर सुरु भएको थियो । प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागीता जनाएका छन् । आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो । नेपालले तेस्रो पटक यो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको हो ।

नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो । भारत १ सय ७१ स्वर्ण सहित पदक तालिकामा अगाडी रहयो । त्यस्तै, आयोजक नेपाल ५१ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहयो ।

महिला भलिबल


२०७६ साल महिला भलिबलमा सुखद नै रहयो । कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालले उपाधि चुम्यो । जुन उपाधि नेपालका लागि ऐतिहासिक हो । अरुणा शाहीको कप्तानीमा नेपाली महिला टोलीले देशका लागि पहिलो स्वर्ण उचालेका थिए । त्यस्तै सागमा महिला भलिबल टोलीले रजत हात परेका थिए ।

संरचना निमार्ण

२०७२ सालमा गएको विनाशकारी भुकम्पका कारण नेपालको दशरथ रंगशाला ध्वस्त भएको थियो । जसका कारण समयमै साग आयोजना हुन सकेको थिएन । साग आयोजना गर्नु पर्ने दवावका कारण दशरथ रंगशाला तयार पारेको थियो । दशरथ रंगशाला मात्र नभई पोखरा रंगशाला, पौडी पोखरी जस्ता संरचनाहरु पनि २०७६ सालमा नेपालमा तयार भए ।

पुरुष फुटबल

महिला भलिबलमा र सागमा मुख्य सफलता हात पारे पनि नेपालले फुटबलमा भने राम्रो प्रदर्शन दिन सकेन । पुरुष फुटबलमा नेपालले स्वर्ण हात त पार्याे तर त्यो अलावा नेपालले फुटबलमा भने राम्रो प्रदर्शन दिन भने सकेन । विश्वकपको एसियाली छनोट खेलमा नेपालले चार हार व्यहारीसकेको छ । साथै, विमल घर्तीमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ ठमेल र दरबार मार्गमा क्लबमा गएर निलम्बनका परेको घटनाले पनि फुटबलको नराम्रो पाटो नै देखाउँछ । त्यसका साथै, शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पनि सम्पन्न भयो जसमा मच्छिन्द्र क्लबले उपाधि चुम्यो ।

खेलकुद जगतमा विधेयक

राष्ट्रिय सभाबाट गत साउनमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रतिनिधि सभाबाट समेत सर्वसम्मत पारित भएको छ । जसले खेल जगतमा नयाँ आयाम ल्याएको छ ।

पारस खड्काको राजीनामा

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिए । क्यानका नयाँ कार्यसमिति आएपछि पारसले राजाीनामा दिए भन्ने कुरा बाहिर आउको थियो । पारसले कप्तानबाट राजीनामा दिएपछि उपकप्तान ज्ञानेन्द्र मल्लले नयाँ कप्तानको जिम्मेवारी पाएका छन् । नेपालले टी–२० विश्वकप छनोट देखि अन्य प्रतियोगिताहरुमा समेत खासै राम्रो गर्न सकेको छैन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जित हात पारेको थियो । अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्यलाई ६ ओभरमै पुरा गरेको थियो ।

कोरोना भाइरसका कारण नेपालका फुटबल, क्रिकेट, भलिबल, लगायत खेलकुदका सबै गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ । नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय खेलकुद गतिविधिहरु पनि स्थगित भएका छन् । खेल जगत पूर्ण रुपमा फेरी कहिलेबाट सुचारु हुन्छ भन्ने कुराको अझै यकिन छैन् ।

यो पनि पढ्नुहोस् : १३ औं सागलाई फर्केर हेर्दा ‘
 

सामान्य परिवारका रोनाल्डो कसरी बने शताव्दीकै उत्कृष्ट खेलाडी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?