चर्चित व्यक्तिसँग मिल्दोजुल्दो अनुहार : कहिले मज्जा कहिले हैरानी !

काठमाडौं – यो फोटोलाई नियालेर हेर्नुहोस् त !

फोटोमा देखिएको अनुहार हेरेर तपाईंले ठान्नुभयो होला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तर उनी हुन् चितवनका एक शिक्षक दुर्गाप्रसाद भट्ट । प्रचण्डसँग अनुहार मिलेका मानिसहरू बेलाबखतमा देखिरहिन्छ । तर कहिलेकहीँ अनुहार मिल्नु पनि अभिशाप हुँदो रहेछ ।

यो चाहिँ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वास्तविक तस्वीर ।

अब भन्नुहोस् माथिको तस्वीर र यो तस्वीर देख्दा झुक्किईदैन त ?

युरोपबाट दशकौँ अघिदेखि आएर पोखरातिर बसोबास गरेका, सर्ट–पाइन्ट लगाएर हिँड्ने, नेपाली राम्रो बोल्ने गिरिजाप्रसाद कोइरालासँग अनुहार, कद, वर्ण र उचाई ठ्याक्कै मिल्ने एक पादरीलाई, ०४८ सालतिर तत्कालीन प्रधानमन्त्री कोइरालाका बिरूद्ध जनआक्रोश चुलिएको बेला धेरै ठाउँमा अप्ठ्यारो पर्नेगरेको उनैले बताएका थिए । कालो टोपी लगाउँदा त झन् गिरिजा नै देखिने उनी साँझ परेपछि टोपी पट्याएर खल्तीमा हालेर मात्र हिँड्दथे, गिरिजा ठानेर गोद्लान् भन्ने डरले । चित्रका भट्ट सरलाई पनि त्यस्तो परेको होला कि !

“यो किस्न सिटोलो भन्ने काँग्रेसको मान्छे र हाम्रो अग्नी सापकोटो त दाजुभाई हुन् कि क्याहो ! अनमार ( उनकै उच्चारणमा ‘अनुहार’) उस्तै देख्छु !” सिन्धुपाल्चोकका एक तामाङ् बाले यो जिज्ञासा राखे । सिन्धुपाल्चोकको सापकोटा र झापाको सिटौला कताबाट दाजुभाई हुनु ! यो जवाफ सँगसँगै मनमा आयो, टिपोट र रेकर्डमा रहेका तथ्यमा आधारित एउटा दिल बहलाउने आलेख तयार गरौँ । चिनिएका मानिसहरूसँग सामान्य मानिसको अनुहार मिल्नु संयोग हो, तर यो विषय पनि उल्लेखनीय हुनसक्छ ।


विदेशको सन्दर्भ पनि हेरौँ ।

इराकी पूर्वराष्ट्रपति (तानाशाह) सद्दाम हुसेनसँग अनुहार मिल्दोजुल्दो भएका इजिप्टको अलेक्जेन्ड्रीया निवासी मोहम्मद बसरलाई पटक–पटक सास्ती खेप्नु प-यो । धेरैपटक प्रहरी हिरासतमा जाकिनुप-यो । बाटोमा हिँड्दा पनि उनलाई मानिसहरूले ‘सद्दाम–सद्दाम’ भन्दै उत्तेजित भएर बोलाउने गर्थे ।

पछिल्लोपटक तीन बन्दुकेले उनलाई अपहरण गर्न खोजे । यसो गर्न खोज्नुको कारण पनि रोचक छ । बसरलाई उनीहरू एउटा अश्लिल भिडियो चलचित्रको नायक बनाउन चाहन्थे । यसका लागि उनलाई ३ लाख ३३ हजार डलरको अफर पनि दिएका रहेछन् । आफू बुढो भइसकेको र त्यस्तो कुनै इच्छा नभएको बताएपछि अपहरणकारीले उनलाई बेस्सरी कुटेर फुटपाथमा फालेर हिँडेछन् ।

यस्तै समस्या डा. बाबुराम भट्टराईसँग अनुहार मिल्ने उनका भाई शिवलाई पनि परेको रहेछ । बाबुराम जस्तै देखिएको कारण युद्धकालमा उनलाई प्रहरीले धेरैपटक पक्राउ गरेर छोडिदिन्थ्यो ।

सँगैको चित्रमा दुई अनुहारका के.पी. ओली छन् । पाठक आफैँ छुट्याउनु होस्, कुन सक्कली ओली हुन् र कुन नक्कली ।

सक्कली ओली नेता हुन्, नक्कली ओली अभिनेता । नेता कम सिँगारिएका होलान्, अभिनेता धेरै सिँगारिएका होलान् । सक्कली ओली प्रधानमन्त्री छन्, नक्कली ओली ‘मेरी बास्सै’ नामक सानो पर्दाको मनोरञ्जनात्मक कार्यक्रममा ‘धुर्मुस’ को चरीत्रमा खेल्ने अत्याधिक रुचाइएका पात्र सिताराम कट्टेल हुन् । भूकम्प पछि काभ्रेमा एउटा भव्य वस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा त्यस्तै वस्ती निर्माण गरिदिएर र हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माणमा लागेर समाजसेवामा पनि चर्चित छन् ।

अनुहार मिलाउनु उच्चस्तरीय कलाको पूर्वाधार पनि हो । बेलायती सिने डाइरेक्टर रिचार्ड एडिनबरोले सन् १९८२ मा दुई करोड २० लाख लगानी गरेर महात्मा गान्धीको जीवनीमा ‘गान्धी’ चलचित्र बनाए र विश्वभरिबाट करिब १३ करोड डलर कमाए । यसले ६ वटा ओस्कार पुरस्कार पनि पायो । अन्य कयौँ प्रतिष्ठित पुरस्कारको त कुरै भएन ।

यस चलचित्रको मूख्यपात्र गान्धी हुने कलाकार थिए बेन किङ्सले । वास्तबमा यिनको न्वारानको नाम कृष्ण भाँजी हो, जो केन्यामा बसोबास गर्ने गुजराती मूल र ‘इस्माइली’ पन्थी मुसलमान ‘खोजा’ वंशका हुन् । यिनका हजुरबा गुजरातबाट अफ्रिकाको जन्जिबारमा गएर नामुद मसला ब्यापारी बने । तर छोरा बेन (यिनी) चाहिँ बेलायतमै जन्मे र क्रिश्चियन नै भए । यिनले गान्धीबाहेक कयौँ चलचित्रमा खेलेका छन् । आठवटा इङ्लिस फिल्म निकै चर्चित छन् ।

गान्धी फिल्मको सफलतापछि यिनी महात्मा गान्धीका पक्का अनुयायी र साकाहारी भए । गान्धीको भूमिकाका लागि छनौटमा परेका अन्य नामुद अभिनेताहरू— डस्टिन हफ्म्यान, रोबर्ट द निरो र रिचार्ड बर्टनलाई पछाडि पारेर छनौटमा पर्न उनी सफल भए ।

इन्डोनेसियाका ‘नक्कली ओबामा’ पनि यहाँ हाजिर छन् ।

३८ वर्षे यी इन्डोनेशियाली किराना पसलका ब्यापारी नुरुल इन्तानलाई सबैले ओबामा भन्नथालेपछि उनी पनि बराक ओबामा हुन झन् टाईसुटमा ठाटिन थाले । सुनिन्छ, बराक ओबामा जस्तै अनुहार बनाउन कसरी सकिन्छ, उनको जस्तो हाउभाउ उतार्न र बोली पनि धोद्रे खालको बनाउन निकै खर्च गरेर लागिपरेका छन् भन्ने बुझिन्छ । मानिसको रुचि अनेकौँ हुन्छ ।

ओबामा छन् भने नरेन्द्र मोदी नहुने कुरै भएन । तस्बीरमा देखिएका ‘नरेन्द्र मोदी’ को खास नाम अभिनन्दन पाठक हो । २/३ वर्षअघि मेरठको भाजपा -यालीमा जाँदा उनलाई हेर्नेको भिड लागेको मात्र थिएन, सुरक्षाको राम्रो इन्तजाम पनि गर्नुप-यो । यो फोटो भारतीय टीभी समाचारको च्यानल ‘एभीपी न्युज’ ले खिचे र प्रशारण पनि गरेको थियो ।


अब हेरौँ ‘जिवित माओ’ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्से–तुङ्को देहावसान भएको सन् १९७६ मै हो, तर माओको तस्बीरसँगै प्रस्तुत गरिएका ‘माओ’ चाहिँ जिवितै छन् ।

यी ५४ वर्षीय ‘माओ’ सन् १९१३ बाट देखापरेका हुन् । यिनको नाम चेन यान हो । यिनले माओले लगाउने जस्तै सुन यात सेन सुट लगाउन थाले, माओले जस्तै फिल्टर नभएको चुरोट हातमा च्याप्न थाले । माओ जस्तो देखिन यिनलाई एकपटकमा ८ सय युवान् (करिब १२ हजार रुपैयाँ) खर्च लाग्ने गर्छ ।

सबभन्दा रोचक पक्ष, यी नक्कली माओ चेन यान महिला हुन् । विवाहिता र गृहिणी हुन् । नक्कली माओ हुने यिनी पहिलो चिनिया महिला हुन् । स्वास्नी माओ भएपछि लोग्नेलाई गृहस्थी जीवन सहज र स्वाभाविक अवस्थामा राख्न हम्मेहम्मे परेको छ भनी उनको बारेमा लेख लेख्ने एन्जेला एरिका कुबोले आफ्नो आलेखमा बताएकी छन् ।

चीनमा माओ त्से–तुङ्, सम्राटहरू आदि इतिहासका पात्रहरूको चित्रण र अभिनय गर्ने उच्चस्तरका कलाकार ताङ् ग्वोक्याङ् हुन् । यस्तै विधामा १९७० देखि डेड दर्जन फिल्म र अन्य तीसौँ टेलिभिजन कार्यक्रममा खेलेका ६२ वर्षे कलाकार ताङ् गुओक्याङ्ले माओ त्से–तुङ्को भेषमा पनि अभिनय गरेका छन् ।  – चन्द्रमणि गौतम 

यसअघि लोकपथमा प्रकाशित यो समाचार छुटाउनुभएको थियो कि ? पढ्नको लागि लिंकमा क्लिक गर्नुहोस्

चर्चित नेपालीहरुको रोचक साइनो : को कसको के नाता पर्छ ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?