पोखरामा कोरोना संक्रमित भेटिएकै हो त ?

काठमाडौं – शुक्रबार दिउँसोबाट कास्कीको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएको समाचार आइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको ‘कोभिड १९’ परीक्षण ल्याबमा स्वास्थ्य परीक्षण गर्दा भारतबाट नेपाल आएका एकजनामा कोरोना भेटिएकोले नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको भनिएको छ ।

यद्यपी प्रदेश सरकारले संक्रमणको पुन पुष्टि गर्न केन्द्रिय संक्रमित भनिएका व्यक्तिको स्वाब परिक्षणका लागि काठमाडौंको टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको बताएको छ । टेकुको रिपोर्ट नआएसम्म कोरोना संक्रमण पोजेटिभ नै हो भन्न नसकिने चिकित्सक बताउँछन् ।

भारतबाट आएका ती व्यक्तिमा पोखराको ल्याबमा पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने तयारी गरिएको छ । उता कोरोना भाइरसको सम्पूर्ण जानकारी दिने वल्डोमिटरले भने नेपालमा ७ जना कोरोना संक्रमित देखिएको जनाएको छ ।

कास्की केस थपेर उसले त्यो रिपोर्ट देखाएको हो । तर पोखरामा कुनैपनि कोरोना संक्रमित नभेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले बताएका छन् । सञ्चारमाध्यममा सातौँ कोरोना संक्रमित नेपालमा भेटिएको भन्ने समाचार प्रकाशित भएपछि लोकपथ डटकमले शर्मालाई सम्पर्क गर्दा लोकपथसँग उनले भने, ‘कोरोना संक्रमण सम्बन्धि रिपोर्टमा कोहिपनि पोजेटिभ भएकोबारे मलाई जानकारी आएको छैन ।’

यसअघि बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। कतारको दोहाबाट कतार एयरवेजको क्युआर ६५२ कलसाईनको जहाजबाट काठमाडौं अवतरण भएकी उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार हुँदैछ।

त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी युवती र बेल्जियमबाट सोही जहाजमा नेपाल आएकी बागलुङकी युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। त्यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। दुबईबाट धादिङ आएका ३२ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको थियो।

अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

त्यसपछि गत चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउन पटकपटक नागरिकलाई अपिल गरेको सरकारले  कोरोनाको महामारीबाट जोगिन गत १० गतेबाट देशभर लकडाउन गरेको छ ।आज शुक्रबार लकडाउनको एघारौँ दिन हो ।

कोरोना महामारी : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

५ दिनमा यी तीन लक्षण देखिए तत्काल गरौँ कोरोनाको परिक्षण

कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?