लिभरपुलको सिजनको पहिलो हार, वाटफोर्डसँग पराजित

काठमाडौं । अपराजित लिभरपुलले प्रिमियर लिग फुटबलमा सिजनको पहिलो हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० ले पराजित गरेको हो ।

ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सर्रले ५४ औ मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जित सुनिश्चित गरेका थिए ।

लिभरपुलले प्रियिमर लिगका पछिल्ला १८ खेलमा जित निकालेको थियो । वाटफोर्डबिरुद्ध जित निकाल्दै प्रिमियर लिग ईतिहासमा सर्वाधिक लामो जितको कीर्तिमान बनाउने अवसर एनफिल्ड क्लबलाई थियो ।

प्रियिमर लिगमा शीर्ष स्थानको लिभरपुललाई २२ अंकको अग्रता प्राप्त छ । जितसंगै वाटफोर्ड रेलिगेशन जोन भन्दा एक स्थान माथि उक्लिएको छ । उसले २७ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ७९ अंक छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?