जर्मन बुन्डेस लिग : होफेनहाइमको पोस्टमा वायर्नको आधा दर्जन गोल

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा वायर्नले होफेनहाइमलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

होफेनहाइमको मैदानमा वायर्नले खेलको दोस्रो मिनेटबाटै अग्रता बनाएको थियो । सेर्गी गान्ब्रीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।खेलको ७ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दा वायर्नको अग्रता २-० को बन्यो । १५ औं मिनेटमा जोसुवा ज्रीकजीले गोल गरे ।

खेलको ३३ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा पहिलो हाफमा वायर्न ४-० ले अघि रह्यो । घरेलु टोलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ४७ औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नको अग्रता ५-० को बनाए । त्यसपछि खेलको ६२ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दा वायर्नले ६-० को फराकिलो जित निकाल्यो ।

जितसँगै शीर्ष स्थानको वायर्नले २४ खेलबाट ५२ अंक जोडेको छ । ३४ अंक जोडेको होफेनहाइम आठौं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?