प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार अझै पाएनन् साग विजेता खेलाडीले, भन्छन् : लापरवाहि भयो !

काठमाडौं । २०७६, मंसिर १५ गते दक्षिण एसियाली खेलकुद(साग) को भव्य उद्घाटन भयो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गरेकी थिइन् । समारोहको शुरुवात जसरी भव्यताका साथ भयो यसपालिको सागमा नेपालको प्रस्तुति पनि अरु वर्षभन्दा सुधार भएको समीक्षकको धारणा छ ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक हात पार्न सफल भयो । नेपालले सागमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा आफूलाई उभ्यायो । पहिलो स्थान सधैंजसो भारतकै पोल्टामा ।

खेलाडीहरुको अब्बल प्रस्तुतिको सराहनास्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २५ गते प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेका थिए । प्रधानमन्त्रीले एक स्वर्ण विजेताले ९ लाख, दुईभन्दा बढी जित्नेले एक स्वर्ण बराबर ११ लाख प्राप्त गर्ने तथा रजत विजेताले ६ लाख र कास्य विजेताले ३ लाख प्राप्त गर्ने घोषणा गरेका थिए । पुरस्कार रकम घोषणा गरेको तीन महिना पुग्न लाग्दा पनि खेलाडीले रकम अहिलेसम्म पाएका छैनन् । खेलाडीहरु अन्योलमा छन् ।

विकास थापा– भारोत्तोलन

१३ औं साग प्रतियोगितामा नेपालले ५१ वटा स्वर्ण पदक सँगाल्यो । खेल क्षेत्रको ‘स्वर्ण वर्ष’ भन्दै धेरै समाचार पनि छापिए । तिनै ५१ वटा स्वर्णमा एउटा पदक विकास थापाले पनि थपेका थिए ।

भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा हात पार्दै विकास थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण चुमेका थिए ।
स्वर्ण हात पार्दा खुशीको सीमा नै नरहेको थापा बताउँछन् । ‘त्यो दिन स्वर्ण हात पार्दा त खुशीको सीमा नै थिएन,’ आफ्नो खुशी शब्दमार्फत् साट्दै उनी भन्छन्, ‘देशको लागि बल्ल केही गरेजस्तो महशुस भएको थियो ।’ विकासको यही खुशीमा एउटा ईट्टा थपेको थियो सरकारको पुरस्कारसम्बन्धि घोषणाले । स्वर्ण जितेकाले उनले ९ लाख पाउनेवाला थिए ।

स्वर्ण विजेतालाई पुरस्कार स्वरुप ९ लाख दिने भनेपछि आफूले छुट्टै योजना बनाएको थापा बताउँछन् । उनी भन्छन्, ‘सरकारले पुरस्कार स्वरुप ९ लाख दिने भनेपछि त अब आगामी खेलहरुमा अझ राम्रो नतिजा दिन सकिन्छ भन्ने आशा गरेको थिएँ ।’ तर, विडम्बना घोषणा गरेको ३ महिना पूरा हुन लाग्दा पनि सरकारले आफूलाई रकम नदिएको थापाले सुनाए ।

‘भारोत्तोलनका लागि आवश्यक सामाग्री निकै महङ्गो हुने भएकाले सरकारले दिएको पैसाले त्यही किन्छु भन्ने सोचेको थिएँ,’अलि मलीन आवाजमा उनी भन्छन्, ‘हामीले खाने न्यूट्रिसन पनि महङगो हुन्छ, त्यही पु-याउन धौ-धौ हुन्छ खेलाडीहरुलाई ।’

अनुपमा मगर – कराँते

१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कराँतेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी थिइन् ।
महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

कराँतेसँगको उनको सम्बन्ध भाग्यले जुराइदिएको बताउँछिन् उनी । कराँते खेलाडी बन्छु भन्ने सोच पटक्कै थिएन अनुपमाको । सानोमा अलि मोटो ज्यान भएकोले गर्दा साथीहरुले उनलाई मोटी भन्दै जिस्काउँथे । अत्ति भएपछि तौल घटाउनका लागि उनले अनेक तरिका अपनाइन् । अँह केही गरे नि सोचेजस्तो परिवर्तन आएन । अन्ततः उनले कराँतेलाई रोजिन् । ‘खेलकुदमा लागेपछि ज्यान घट्छ भन्ने कुरा हुन थालपछि मैले कराँते सिक्न थालें,’ उनी अगाडी थप्छिन्, ‘खेल्दै गएपछि मलाई यसैमा रमाइलो लाग्न थाल्यो ।’

तौल घट्नु एकातिर, कराँतेमा चाख लाग्दै जानु अर्कातिर । ज्यान घट्यो तर, अनुपमाले कराँते छोड्न सकिनन् । आफूलाई अभ्यासमार्फत् निखार्दै जाँदा अन्ततः राष्ट्रिय खेलाडी बनेको उनी सुनाउँछिन् । राष्ट्रिय खेलाडी मात्र होइन उनले त देशलाई स्वर्ण पदकसमेत दिलाइसकेकी छिन् । ११ औं सागमा सेलेक्सन राउन्डबाटै आउट भएकी उनले १३ औं सागमा आइपुगुन्जेल देशलाई स्वर्ण पदक दिलाइन् ।

सागमा स्वर्णपदक जित्दा धेरै खुशी लागेको उनी बताउँछिन् । भन्छिन्, ‘सागमा स्वर्णपदक जित्दा धेरै खुशी लागेको थियो । मेरो पनि अब छुट्टै पहिचान हुनेछ, मलाई पनि अब गोल्ड मेडलिस्ट भनेर चिन्छन् भनेर खुशी थिएँ ।’

तर, सरकारले दिने भनेको पुरस्कार अहिलेसम्म नपाउँदा चाहिँ उनको चित्त अलि दुखेको छ । ‘नदिने भए त सरकारले किन घोषणा गथ्र्यो र ? तर यति बेला सम्म किन दिएन भन्ने कुराले दङ्ग परेको छु,’ अचम्म मान्दै सुनाउँछिन् अनुपमा ।

आयशा शाक्य – तेक्वान्दो

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा दुई सन्तानकी आमा आयशा शाक्यले २ वटा स्वर्ण पदक हात पारिन् । देशलाई स्वर्ण जिताउँदाको खुशी एकातिर छँदैछ अर्कोतिर ‘विवाह र छोराछोरी भइसकेपछि पनि महिला खेलाडीहरु सक्रिय हुन्छन् भन्ने विश्वास स्थापित गराउन पाउँदा निकै खुशी लागेको आयशा बताउँछिन् ।

सरकारले दिने भनेको पुरस्कारको उनलाई पनि आश छ । तर आयशा भन्छिन्, ‘ढिलाई गर्ने त हाम्रो सरकारको चलिआएको चलन हो । यो पालि त सरकारले पहिलेको जस्तो गर्दैन होला जस्तो लागेको थियो तर खै त साग सकिएको लगभग तीन महिना पूरा हुँदासम्म सरकारलाई वास्ता छैन । सरकारको गफ मात्र हो,’ आयशा थप्छिन् ।

यसरी घोषण गरेको पुरस्कार दिन ढिलासुस्ती गर्दा खेल क्षेत्रमा भर्खर पाइला चाल्दै गरेका खेलाडीहरुलाई सम्स्या हुने पनि उनले बताइन् । सरकारको यस्तो हर्कतले खेलाडीहरुलाई प्रेरणा मिल्नुको साटो निरुत्साहित गर्ने आयशा बताउँछिन्। सरकारले दिने भनेको पुरस्कारले घरको ऋण तिर्ने योजना बनाएको उनी सुनाउँछिन् । ‘तर खै सरकारले चासो नै दिएको छैन, दुख लागेको छ,’ उनी थप्छिन् ।

सञ्जु चौधरी – भारोत्तोलन

नेपालको तर्फबाट सञ्जु चौधरीले भारोत्तोलन प्रतियोगितामा ५९ केजी तौल महिला समूहमा स्वर्ण जितेकी हुन् । भारोत्तोलन प्रतियोगितामा महिलातर्फ नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो । हाल उनी सिनियर एसियन च्याम्पियनसीपको तयारीमा छिन् ।

तीन महिनासम्म पनि सरकारले पुरस्कार नदिँदा उनी दुख व्यक्त गर्दै भन्छिन्, ‘हामीले देशको लागि स्वर्ण दिलाएपछि देशले पनि त हाम्रो लागि केही गर्न प-यो ।’अगाडि थप्दै उनी भन्छिन्, ‘राज्यले यसरी लापरवाही ग-यो भने खेलाडी बन्ने सपना बुनीरहेका नयाँ खेलाडी प्रोत्साहित नभई निरुत्साहित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?