प्रियिमर लिग फुटबलमा लिभरपुलको कीर्तिमानी जित

काठमाडौं । ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले कीर्तिमानी जित हात पारेको छ । सोमबार राति वेस्ट ह्यामबिरुद्ध जित हात पार्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।

सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो । चालू सिजन निकै फर्ममा रहेको लिभरपुलले सिटीको सो कीर्तिमान बराबरी गरेको हो । लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ ।

लिग तालिकामा सुविधाजनक अग्रता लिएको लिभरपुलले सोमबार राति संघर्षपूर्ण जित आत्मसाथ गर्यो । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ को कठिन जित निकाल्यो ।

जर्जिन्हो विजनाल्डमले खेलको ९ औं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसंगै वेस्ट ह्याम खेलमा अगाडी बढ्यो । ६८ औ मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख खेलको ८१ औ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गरेको छ । त्यस्तै, डेबिड मोयस नेतृत्वको वेस्ट ह्याम २४ अंक सहित रेलिगेशन जोनमै रह्यो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?