कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर एक जनाको ज्यान गएको छ । एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ ।

ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनको परिचय भने खुलाइएको छैन । फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार मृत्यु भएको हो ।

अस्पताल प्रवेश गर्दा सुरुमा ती बिरामीमा निमोनिया देखिएको थियो । उपचारको दौरानमा अवस्था सुधारिएजस्तो देखिए पनि अन्तिममा ज्यान गएको बताइएको छ ।

चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ ।

अमेरिका, अस्ट्रेलिया र अन्य देशहरूले चीनबाट विदेशी नागरिकहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई अलग्गै राख्ने व्यवस्था मिलाएका छन् ।

चीनबाट फैलिएको नयाँ कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले खोपको विकास गर्न वैज्ञानिकहरू अहोरात्र काम गरिरहेका छन् । अमेरिका र अस्ट्रेलियाका वैज्ञानिकहरू आफूले विकसित गरिरहेको खोप मानिसमा यथाशीघ्र परीक्षण गर्न सकिन्छ भन्ने आशामा छन् ।

के हो कोरोना भाइरस ?

जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ  (यसको म्युटेसन हुन्छ) र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु(याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

कहाँबाट, कसरी फैलियो महामारी ?

अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

एजेन्सी

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ? 

भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ

चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?