ल्यान्ड गर्न लागेको विमान सडकमा उछिटिएपछि…

काठमाडौं । इरानी यात्रुबाहक विमान बान्दर-ए-मासार बिमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् ।

राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै विमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।

खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले विमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण विमान अनियन्त्रित भएको बताएका छन् ।

इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस विमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । विमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए ।

तस्वीर : एजेन्सी

टेलिभिजनले विमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । विमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा विमान अबतरण गर्नेक्रममा बिमानका पाङ्ग्राहरु फुटेको बताए ।

इरानी नागरिक उड्डयन संस्थाले विमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान बिरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित विमान कम्पनीहरु एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ ।

प्रतिबन्धहरुका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् : 

इरानमा १ सय ८० यात्रु बोकेको विमान खस्यो

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?