भक्तपुरकी महिला सिडिओ जसका लागि ससुराबुबाको त्यो वाक्य ‘टर्निङ प्वाइन्ट’ बन्यो

शिक्षिकादेखि उत्कृष्ट निजामती सेवासम्मको प्रेरणादायी यात्रा

सरकारले केही समयअघि मात्र ६ वटा जिल्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) का रुपमा खटायो । तीमध्ये एक हुन् अर्घाखाँचीकी हुमकला पाण्डे । उनी भक्तपुर जिल्लाकी सीडीओ हुन् ।

भक्तपुर जिल्लाको सीडीओका रुपमा नियुक्त भएको एक महिना भयो । कुनै बेला स्कूलकी सामान्य शिक्षिका यतिबेला एउटा सिङ्गो जिल्लाको अभिभावक बनेकी छिन् । सरकारी सेवामा प्रवेश गरेपछि प्रधानमन्त्री कार्यालय, महिला मन्त्रालय, अख्तियार लगायत विभिन्न महत्त्वपूर्ण क्षेत्रमा सेवा पु-याउँदै सीडीओ भएकी हुमकलाको जागीरे यात्रा उत्तिकै रोचक छ ।

आजभन्दा करिब २ दशकअघि हुमकला सीडीओ बन्ने सपना बुनेर राजधानी आएकी भने होइनन् । उनलाई प्राध्यापक हुने सपनाले अर्घाखाँचीदेखि सपना नगरी काठमाडौंसम्म डो-याएको थियो ।

अर्घाखाँचीबाट आइए अध्ययन गरेर काठमाडौं छिरेकी हुमकलाको यहाँ कोही आफन्त थिएन । जे गर्नु थियो, आफैले गर्नु थियो ।
‘सानैदेखि पढाइमा अब्बल थिएँ त्यसैले आत्मनिर्भर बन्नुपर्छ भन्ने लक्ष्य थियो,’ हुमकला स्नातक पढ्न राजधानी आउँदाको समय स्मरण गर्दै अगाडि थप्छिन्, ‘आफै कमाउँदै पढाइ पूरा गर्छु भनेर काठमाडौं आएँ ।’

राजधानी आउँदाका शुरुवाती दिन त्यति सहज थिएनन् उनका लागि । बिहान क्याम्पस जान्थिन् । दिउँसो स्कुलमा पढाउँथिन् । स्नातकोत्तर अध्ययनसम्म उनको पढाइ यसरी नै अगाडि बढ्यो । यही दौरान हुमकलाको विवाह भयो ।

‘विवाहअघि मैले अरु केही सोधिन मात्र एउटा शर्त राखें,’ हुमकला हाँस्दै सुनाउँछिन् ।

‘कस्तो शर्त ?,’ लोकपथ डटकमले जान्ने जिज्ञासा राख्यो ।

‘बिहेपछि पनि पढाउन पाउनुपर्छ भन्ने शर्त,’ हुमकलाको उत्तर ।

‘श्रीमान् र घरपरिवार बुझ्ने भएकाले कहिल्यै दोहो-याएर भन्नै परेन, परिवारले हरेक कुरामा साथ दिनुभयो,’ उनी थप्छिन् ।

जे होस् विवाहपछि पनि हुमकलाको दैनिकीमा खासै परिवर्तन आएन । श्रीमान् निजामती सेवामा थिए त्यसताका । पढाइलाई खुब महत्त्व दिन्थे । श्रीमान्ले आफ्नो पढ्ने र आत्मनिर्भर बन्ने इच्छामा कहिल्यै प्रश्न नउठाएको बताउँछिन् हुमकला । त्यसैले उनको पढाइमा कहिल्यै पूर्णविराम लागेन ।

नेपाली भाषाविज्ञान र शिक्षा दुई विषयमा एकैसाथ स्नातकोत्तर गर्दै गरेकी हुमकलाले भाषा विज्ञानमा क्याम्पममै सर्वोत्कृष्ट अंक ल्याइन् । सर्वोत्कृष्ट अंक ल्याएपछि हुमकलाको करिअरमा अर्को इँटा थपियो । त्रिचन्द्र क्याम्पसमा उनले अध्यापन गर्ने मौका पाइन् । त्यो सफलताले हुमकलालाई शिक्षकबाट ‘लेक्चचर’ बनाएको थियो ।

‘यो मेरो जीवनको महत्त्वपूर्ण मोड थियो, त्यतिबेला मलाई सबै सपना पूरा भएको महसूस भयो,’ उनी त्यो क्षण स्मरण गर्छिन् ।
त्यो एउटा बडो गज्जबको खुशीको क्षण थियो हुमकलाका लागि । सानैदेखि देखेको सपना पूरा हुनु, बुझ्ने श्रीमान् र सहयोगी परिवार पाउनु हुमकलालाई लाग्यो उनको जीवन भरिपूर्ण भयो अब ।

तर, समयले उनको सपनालाई एउटा विद्यालय वा क्याम्पसको सीमित घेरामा खुम्चिन दिएन । आफ्नो ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्कन चुनौती दिइरह्यो । त्यही चुनौतीलाई स्वीकार्दै हुमकला निजामती सेवामा प्रवेश गरिन् ।

हुमकलाका श्रीमान्को परिवारका धेरै सदस्य सरकारी जागीरे थिए । सरकारी जागीरे भनेपछि बेग्लै सम्मानका साथ हेरिन्थ्यो त्यस परिवारमा । र, समाजमा पनि ।

हुमकलालाई परिवारले सल्लाह दिन्थे – सरकारी जागीरका लागिपनि एकपटक कोसिस गरी हेर न ! अझ एकदिन ससुराले फ्याट्ट भने – खरदार पनि नबन्ने भयौ त तिमी ?

‘परिवारको कुराले मलाई कताकता छोयो, मलाई त्यतिबेला आत्मसम्मानका लागि भएपनि सरकारी जागीर खानुपर्छ कि भन्ने लाग्यो,’ हुमकला अगाडि थप्छिन्, ‘त्यसपछि झण्डै डेढ वर्ष तयारी गरेँ र पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकालेँ ।’

वि.सं. २०६३ मा सरकारी जागीरे बनेपछि हुमकलाको पहिलो कार्यक्षेत्र बन्यो प्रधानमन्त्री कार्यालय ।

पाँच वर्षपछि उनको सरुवा शहरी विकास मन्त्रालयमा भयो । यति बेलासम्म उनी उपसचिव भइसकेकी थिइन् । तर, पढाइ भनेपछि हुरुक्कै हुने हुमकलालाई अझै नयाँ कुरा सिक्नु थियो । उनलाई थप अध्ययनका लागि दक्षिण कोरिया जाने अवसर मिल्यो ।

‘कामकै सिलसिलामा थप अध्ययनका लागि दक्षिण कोरिया जाने मौका मिल्यो,’ उनी सुनाउँछिन्, ‘त्यहाँ मैले कृषि तथा ग्रामीण विकासमा स्नातकोत्तर गरें ।’
करिब २ वर्षपछि उनी नेपाल फर्किइन् । केही समय अर्थ मन्त्रालयमा काम गरिन् ।

‘अर्थ मन्त्रालयमा केही महिना काम गरेपछि मेरो सरुवा महिला मन्त्रालयमा भयो,’ हुमकला अगाडि थप्छिन्, ‘त्यसपछि सहसचिवको परीक्षा पास गरेर अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा प्रमुखका रुपमा नियुक्त भएँ ।’

चाहे पढाइको होस् वा जागिरको हरेक परीक्षा पहिलो प्रयासमै उत्तीर्ण गर्ने हुमकलालाई सहसचिवको परीक्षाले भने धैर्यताको ठूलो पाठ सिकायो । ३ पटकसम्म लिखित पास गर्ने तर, अन्तर्वार्तामै पछारिएपछि बल्ल चौथो पटकमा सहसचिवको परीक्षा उत्तीर्ण गरेको सुनाउँदै उनी भन्छिन्, ‘एकदुई पटक लड्दैमा उठ्नै नचाहने प्रवृत्ति गलत हो त्यसैले जति पटक फेल भएपनि प्रयास गरिरहें ।’

सहसचिवको परीक्षा त उत्तीर्ण गरिन् उनले तर, एउटा सिङ्गो कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी पनि थियो उनको सामुन्ने । त्यसमाथि अख्तियार !

‘एक त अख्तियार आफैमा निकै जोखिमपूर्ण निकाय हो त्यसमा पनि म त्यहाँको प्रमुख भएकाले नेतृत्वको भूमिकामा थिएँ, ६० जनाको टिम थियो हाम्रो त्यसमा कार्यालय सहयोगी र एकजना महिला प्रहरी गरेर जम्मा ३ जना मात्रै महिला थियौं हामी,’ प्रदेश ३ को हेटौंडास्थित अख्तियार दुरुपपोग अनुसन्धान आयोगमा प्रमुखको जिम्मेवारी निभाइरहँदा सँगालेको अनुभव सुनाउँछिन् हुमकला, ‘तर, एकपटक पनि महिला भएकै कारणले हेपिनु परेन मैले ।’

हुमकला थप्छिन्, ‘अझ खुशीको कुरा त के भने सोही कार्यालयमा गरेको कामका आधारमा मैले सरकारबाट उत्कृष्ट निजामती सेवा पुरस्कार पनि प्राप्त गरें ।’ हरेक वर्ष सरकारले निजामती क्षेत्रका कर्मचारीमध्ये केहीलाई उनीहरुको कार्यसम्पादनको आधारमा यो पुरस्कार प्रदान गर्ने गरेको छ ।

अख्तियारमा रहँदा बटुलेका अनुभवहरुले नै अहिले आफूलाई प्रमुखको भूमिका निर्वाह गर्न खासै गाह्रो नभएको बताउँछिन् उनी । प्रशासन र अख्तियार दुवै क्षेत्र अर्धन्यायिक भएकाले पनि कामको प्रकृति मिल्दोजुल्दो भएको उनको ठहर छ ।

तर, यसपटक उनको कार्यक्षेत्र अझै बृहत् छ । एउटा पूरै जिल्लाको जिम्मेवारी उनले पाएकी छिन् । जिल्लाका विभिन्न निकायसँग समन्वय गर्दै अघि बढ्नुपर्ने भएकाले यो जिम्मेवारी निकै महत्त्वपूर्ण भएको उनी बताउँछिन् । ‘शुरुमा आन्तरिक कार्यप्रणाली चुस्त दुरुस्त बनाउनु मेरो प्राथमिकता हो,’ पाण्डे अगाडि थप्छिन्, ‘यहाँ आउने सेवाग्राहीहरुले सजिलोसँग सेवासुविधा तथा सूचना पाउनुपर्छ र यो कार्यालय नागरिकमैत्री बनाउनुपर्छ ।’

भक्तपुर नक्सामा सानो छ तर जनसङ्ख्या ठूलो छ । नेवार समुदायको वर्चस्व भएको यस जिल्लामा सामान्य समस्या उनीहरु आफ्नै समुदायभित्र सुल्झाउने बताउँछिन् पाण्डे । ‘उनीहरुको आफ्नै संस्कृति, जीवनशैली तथा कार्य सञ्चालन गर्ने पद्धति भएकाले प्रशासनसम्म हत्तपत्त आइपुग्दैनन्,’ हुमकला भन्छिन्, ‘केही समस्या आइपरे आफ्नै निर्णायक तहबाट सल्टाउँछन् ।’

हुमकलाले डेढ दशकमै आफ्नो करिअरमा मारेको यो फड्को धेरैका लागि ‘वाह’ भएपनि उनलाई यो सामान्य लाग्छ । सिडिओ भन्दै आफूलाई देवत्वकरण गरेको उनलाई खासै चित्त बुझ्दैन । अझ महिला भएर पनि यत्रो ठूलो ओहोदामा पुगेको भन्दै अचम्मित हुनेहरुलाई उनी भन्छिन्, ‘महिला भएर पनि यति धेरै प्रगति भन्ने समय गइसक्यो अब ।’

खासमा आफूले महिला भएकै कारण शिक्षा र अवसरबाट बन्देज हुन नहुने कुरा आफ्नै आमाबुबाबाट सिकेको बताउँछिन् उनी । हुमकला भन्छिन्, ‘आमा पढेलेखेको हुनु हुन्नथ्यो तर, सधैं छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो अनि बुबा त झन् राति १० बजेसम्म म र बहिनीलाई राखेर पढ भन्नुहुन्थ्यो ।’

उनका दौंतरीहरुको १३, १४ वर्षको कलिलो उमेरमै विवाह हुँदा हुमकलाका लागि पनि विवाहका प्रस्ताव आउँथे । त्यसरी प्रस्ताव लिएर आउनेलाई आमाले झपार्दै पठाएको याद अझै ताजा छ हुमकलाको मस्तिष्कमा । बालबालिकाको पहिलो पाठशाला घर अनि शिक्षिका आमा भन्ने भनाइ हुमकलाको जीवनमा चरितार्थ भयो ।

उनी भन्छिन्, ‘तर, सबैले मजस्तै सहज वातावरण कहाँ पाउँछन् र ? त्यसैले त अझै पनि सबै महिलाहरुले सपना पूरा गर्नै पाउँदैनन् र पाएकाहरुले पनि कार्यक्षेत्रमा हेपिएको गुनासो गरिरहन्छन् नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?