योजनाकारको त्यो ३ प्रश्न, युवतीले थाहा पाइन् आफूलाई बलि चढाइँदैछ !

काठमाडौं । पछिल्लो समय नेपालमा अपराध गर्नेहरुको गिरोह भिन्न तरिकाले सक्रिय हुन थालेका छन् । कतै सामाजिक संजालको प्रयोग गरेर त, कतै जागिरको प्रलोभन देखाएर , कतै धर्मको नाममा , अनि कतै प्रेमको नाटक गरेर । आपराधिक समूहहरु भिन्न रुपले सक्रिय हुन थालेपछि प्रहरीलाई अनुसन्धान गर्नमा समेत चुनौती थपिएको छ । भर्खरै एउटा डरलाग्दो र क्रुर घटना सार्वजनिक भएको छ । जुन सुन्दा तपाई झस्किनुहुन्छ ।

हो एक नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिन लागेको घटनाको पर्दाफास भएको हो ।

भएको के हो ?
केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै युवतीको खोजी गरियो । जहाँ उचाई साढे ५ फिटदेखि ६ फिटसम्म भएको युवती खोजी गरिएको थियो । युवती खोजिदिने जिम्मा राजधानीको एक फेसन डिजाइन हाउसले लिएको थियो । र यसको संयोजक थिइन् काठमाडौंकै एक युवती ।

डिजाइन हाउसले युवतीको खोजी सुरु गरेपछि एक युवती डिजाइन हाउसको सम्पर्कमा आइपुगिन् । ती युवतीले ६ महिनादेखि चिन्दै आएकी थिइन् डिजाइन हाउसकी संचालिकालाई । पछि ती दुई जनाबीच भेट्ने कुरा पनि भयो । भेट्न जाँदा डिजाइन हाउसकी संचालिकासँग अन्य ५ जना केटाहरु पनि थिए ।

ती युवती उनीहरुको सम्पर्कमा आइपुगेपछि उनको शरीरको नाप लिइयो । त्यहाँ आउने ५ जना केटामध्ये एकले युवतीको नम्बर माग्यो । युवतीले पनि नम्बर दिइन् । कामको विषयमा फोनमा कुरा हुन्थ्यो ।

गत पुष ३ गते (बिहिबार) राति घरमा खाना खाएर बसिरहेको युवतीलाई एक्कासी त्यो केटाको फोन आयो । त्यो केटाले शंकास्पद ३ प्रश्न गर्यो ।
मासु–रक्सी खान्छौँ कि खान्नौँ ?
महिनावारी भएको छ कि छैन ?
त्यहाँ लड्डु खानुपर्छ थ्यो खाएपछि बेहोस् हुन्छ !
‘नेपाल–भारत बोर्डरतिर गएर पूजा गर्नुपर्छ । फेरि त्यस्तो छ भने हाम्रो कुल देवताले मान्नुहुन्न,’ प्रश्नपछि एकाएक युवती झस्किइन् । र सोधिहलिन्, पहिले त पूजा गर्ने कुरा नै आएको थिएन त ? त्यो केटाले जवाफमा भन्छ, “होइन यो सांस्कृतिक कार्यक्रम हो । डकुमेन्ट्री जस्तो बनाउँछु । अनि अर्को देशमा लगेर देखाउने हो । त्यहाँ भारतीय र कोरियाका मान्छेहरु पनि आउँछन् ।” लड्डु खाएपछि पुरै बेहोस हुने कुराले युवती आत्तिइन् र प्रहरीको शरणमा पुगिन् । युवती प्रहरीमा पुगेपछि घटना बाहिरिएको हो ।

युवतीले सबै कुरा बताएपछि रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले युवतीलाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने अनुमान प्रहरीले लगायो । त्यसपछि सबै घटनालाई प्रहरीले सुक्ष्म रुपमा हेरेर अनुसन्धान थाल्यो।

कतिपय स्थानमा युवतीसँगै सादा पोशाकका प्रहरी आफन्त बनेर पुगे । प्रहरी स्रोतका अनुसार ती युवती मोडल पनि हुन् ।

उनलाई आफ्नो प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने भनिएको थियो ।

आपसी सहमतिमा सबै कुरा मिलिसकेपछि ती युवती विराटनगर जान तयार भइन् । जहाँ सादा पोशाकमा रहेका प्रहरी पनि सँगै थिए ।

प्रहरीका अनुसार विराटनगर पुगेपछि उनलाई एक धार्मिक आश्रममा लगियो। त्यहाँ पुगेपछि उनलाई विभिन्न धार्मिक बस्त्र पहिर्‍याइयो ।

उनको खुट्टामा कालो धागो बाँधियो । उनलाई फेरि भारत जानुपर्ने बताइएपछि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो । ती युवती झापाकी हुन् ।

प्रहरीका अनुसार ६ जनालाई विराटनगरबाट पक्राउ गरिएको थियो भने एकजना काठमाडौँबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैजनालाई काठमाडौँ मङ्गलबार ल्याइएको छ ।

पक्राउ परेकामध्ये २ जना युवती र ५ जना युवक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिने प्रहरीको तयारी छ ।
एक वर्षअघि पनि झापामा युवतीलाई बलि दिनका लागि यस्तै नाटक रचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?