विदेश जाने तयारीमा हुनुहुन्छ ? नयाँ नियम अनुसार यी कागजात नछुटाउनुस् है ! (सूचिसहित)

काठमाडौँ । तपाई विदेश भ्रमणको तयारीमा हुनुहुन्छ ? वा आफ्नो कामको शिलशिलामा पटक पटक विदेश भ्रमण गरिरहनुहुन्छ ? पछिल्लो समय अध्यागमन विभागले विदेश जानको लागि विभिन्न कागजात आवश्यक रहेको जनाएको छ । गृह मन्त्रालयको निर्देशन भन्दै अध्यागमनले विदेश जानेको लागि नयाँ नियम लागू गरेको छ । गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तयार गरिएको जनाएको छ ।

ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरुका लागि हाते पुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकहरुलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था,व्याख्या र आधारहरुलाई थप वस्तुनिष्ठ बनाउनका लागि नयाँ व्यवस्था गरिएको हो ।

पर्यटकीय प्रकृतिका भिसामा प्रस्थान अनुमतिका लागि देश अनुसार फरक फरक व्यवस्था गरिएको छ । जसअनुसार अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र हेटल बुकिङ देखाउनु पर्नेछ । यस्तै गन्तब्य मुलुकको ब्याल लिस्टको सूचीमा यात्रारत व्यक्ति छ या छैन पनि हेरिनेछ ।

यस्तै चीन तथा थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने मुलुकलगायतका देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ ।

यस्तै विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनु पर्छ ।

यसैगरी तालिम तथा कार्यक्रममा विदेश जानेहको हकमा पासपोर्ट भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणापत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ ।

यस्तै कामदार भिसामा जानेहरुको हकमा भने श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिनको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?