डेंगुको प्रभाव देशभर : स्वास्थ्य मन्त्रीको हलुका जवाफ

काठमाडौं । सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु संक्रमण आपतकालिन अवस्था घोषणा गर्नुपर्ने तहसम्म नरहेको स्पष्ट पार्नुभएको हो ।

नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि डेंगुको संक्रमण देखिएको उल्लेख गर्दे उहाँले नेपालको डेंगु संक्रमण जटिल किसिमको नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीकहाँ यो रोग पनि अन्य मुलुकहरुमा जस्तै जटिलतायुक्त डेंगु रोग अत्यन्त न्यून रुपमा मात्र देखिएका छन् । र मृत्यु दर अत्यन्तै न्यून रहेकोले नै आपतकालिन अवस्था को घोषणा गर्नुपर्ने हदमा नरहेको कुरा जानकारी गराउन चाहन्छु । ”

उहाँले डेंगु लगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख र ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैया पठाईएको जानकारी गराउनुभयो । त्यसैगरी, स्थानीय तहका विभिन्न जिल्लामा डेंगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर मार्ने अभियान संचालन गर्नुको साथै जनचेतनामुलक कार्यक्रम पनि भईरहेको उहाँले बताउनुभयो ।

मुलुकभरका १ सय १८ पटा अस्पतालबाट डेंगु सम्बन्धी तथ्यांक अध्यावधि गर्ने काम भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री यादवले सघन डेंगु रोग नियन्त्रण घर दैलो अभियान अन्र्तगत ‘सबैको साथ डेंगुको नाश हप्ताको एक दिन एक घण्टा हुदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टे लार्भा नष्ट” अभियान संचालन गरिएको तथा जानकारी मुलुक सुचना प्रकाशनका कार्यगत सुचीको विवरण पनि संसद समक्ष पेश गर्नुभएको थियो ।

संसदको यसअघिका बैठकमा डेंगु संक्रमण बढ्दै जादा जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय समस्या तर्फ गम्भीर नबनेको भन्दै प्रतिपक्षी दलका सांसदले स्वास्थ्यमन्त्रीको राजिनामा मागेका थिए भने सत्तापक्षकै सांसदहरुले पनि स्वास्थ्यमन्त्रीको आलोचना गर्दै आएका थिए ।

यो पनि हेर्नुहोस्

७० हजार नेपालीमा डेंगु ! यस्ता छन् १० लक्षण र बच्ने उपाय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?