केपी र प्रचण्डको एउटै बोलीः प्रधानमन्त्री,अध्यक्ष गौण (विज्ञप्तिसहित)

काठमाडौ, २ पुष- बाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला अभिव्यक्ति र गतिविधि लोकतन्त्रविरुद्ध भएको बताएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामा आइसकेपछि पहिलो पटक काठमाडौमा आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई स्वस्थ्य ढंगले अगाढि बढाउने कुरामा व्यवधान हुने गरी अभिव्यक्तिहरु दिने गरेको बताएको हो पत्रकार सम्मेलनका पूर्वपाठनेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) काे संयुक्त प्रेस वक्तव्य
२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित गर्नुु हुने दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरुका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक राजनीतिक दलहरु,उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुलाई हार्दिक वधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं । त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासको आधारमा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चार माध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौं । नेपाली समाजमा विद्यामान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पिडन विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेका छौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौं । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायीत्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सवल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता,एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यवहारिक रुपमा सार्थक तुल्याउन प्रतिवद्ध छौं । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र,विशेषतः छिमेकी देशहरु त्था अन्तराष्ट्रिय संघ,संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं । यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौं र यस निर्वाचनमा आपसी तालमेल गरेका हौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासील गर्न प्रतिवद्ध छौं । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौं । हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौं र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गर्दछौं । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं । निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तराष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी सरकारलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।
केपी शर्मा ओली अध्यक्ष नेकपा (एमाले) ,पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष नेकपा (माओवादी केन्द्र)
मिति ः २०७४ पुष २ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?