Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्

लोकपथ ६ मंसिर २०८३, आइतबार १३:२५
प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्
शेयर गर्नुहोस् Facebook
यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आज भारत भ्रमणमा जाँदैछन् ।

पौने २ बजे भारततर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसअघिका प्रधानमन्त्री जस्तो कुनै पनि औपचारिकता पूरा नगर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, सुझाव माग्नेदेखि उठाउनुपर्ने विषयमा राय माग्ने काम प्रधानमन्त्रीले गरेनन् । साथै देश बाहिर जाँदा राष्ट्रपतिसँग परामर्श गर्ने, जानकारी गराउने काम समेत उनले गरेका छैनन् ।

तर उनले प्रतिनिधित्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भने जानकारी गराएका हुन् । उनले रविलाई भेट नै गरी त्यस विषयमा जानकारी गराएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी गराए ।

‘भ्रमणका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूले पार्टी सभापतिज्यूसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको थियो। उक्त अवसरमा सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ,’ उनले भनेका छन् ।

त्यसो त यसअघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहले सलामीसहित कुनै पनि औपचारिक कार्यक्रमहरु राखेनन् र सहभागि भएनन् । प्रधानमन्त्री शाह यसपटक पनि सिधै प्लेनमा पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।