काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मंसिर ६ गतेबाट औपचारिक रुपमा भारतको भ्रमण गर्दैछन् ।
दुई दिने भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आज परराष्ट्रमन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरी त्यस विषयमा जानकारी दिएको हो ।
आइतबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत् त्यसतर्फ जान लागेका प्रधानमन्त्री वालेनले मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिए ।
उक्त वार्तामा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा उर्जा सहकार्यसम्बन्धी परियोजनाहरुको उद्घाटन, नयाँ परियोजनाहरुको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको सचिव राईले बताए ।
‘दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा उर्जा सहकार्य सम्बन्धी विभिन्न परियोजनाहरुको उद्घाटन, नयाँ परियोजनाहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ,’ उनले भने ।
यसैगरी दुवै देशका तर्फबाट व्यापार, पारबहन, लगानी, उर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार लगायतका क्षेत्रहरुमा आर्थिक सहायताका विषयमा छलफल हुनेछ ।
सहकार्यका विभिन्न क्षेत्र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा यसअघि हुँदै आएको जस्तै सहकार्यका लागि छलफल हुने बताइएको छ ।
दुई पक्षीय वार्तापश्चात दुवै देशका प्रधानमन्त्रीहरु सम्मिलित संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
सोही दिन प्रधानमन्त्री वालेन भारतीय समकक्षी मोदीले आयोजना गर्ने आधिकारिक लञ्चिङमा प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डल सरिक हुनेछ । सोही दिन नै भारतकी राष्ट्रपति दौपदी मुर्मु र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सोमबार नै प्रधानमन्त्री वालेनले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा जाने र सम्मान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री वालेन व्यवसायीक भेटघाट गर्नेछन् । जहाँ नेपाल र भारतीय व्यवसायीहरुको सहभागिता रहने र नेपालमा भारतका तर्फबाट लगानी भित्राउने विषयमा हुने छलफल महत्वपूर्ण हुने विश्वास लिइएको बताइएको छ ।
‘यस भ्रमणबाट प्राप्त हुने उपलब्धीले हाम्रा दुई पक्षीय साझेदारीलाई थप गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष अनुभूती गर्ने गरी ठोस लाभ प्राप्त गर्न महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ,’ सचिव राईले भने ।
प्रधानमन्त्री वालेन दुई दिने भ्रमण सम्पन्न गरी मंसिर ७ गते साँझ ६ः३५ बजे नियमित उडानमार्फत् स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा मन्त्रीहरुमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै सहभागि हुनेछन् । त्यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम साह सहभागि हुनेछन् । प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया