अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने

लोकपथ
0
Shares

काठमाडौं । अब नेपाली नागरिकता वा गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि बसाइँ सरेकै ठाउँबाट लिन पाइने भएको छ ।

नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले यस्तो व्यवस्था गरेको हो । नयाँ नियमअनुसार नागरिकता प्रमाणपत्र आगलागी वा पानीले भिजेर नष्ट भएमा, च्यातिएमा, हराएमा, बसाइँसराइ भएमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ ।

नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिले आवश्यक कागजातसहित सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

नियमावलीअनुसार नागरिकता च्यातिएर काम नलाग्ने भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा पुरानो नागरिकताको सक्कल प्रति बुझाउनुपर्नेछ । तर आगलागी वा पानीले नष्ट भएको तथा हराएको अवस्थामा नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । प्रतिलिपि पनि नभएमा राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये कुनै एक कागजात पेस गर्न सकिनेछ ।

बसाइँसराइ गरेर अर्को ठाउँमा पुगेको अवस्थामा बसाइँसराइ प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

तर नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको व्यक्तिगत विवरण र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको जैविक विवरण मिलेको अवस्थामा स्थानीय तहको सिफारिस लिनुपर्ने छैन । यसले नागरिकताको प्रतिलिपि लिन सेवाग्राहीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

यस्तै, गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन हाल नागरिक रहेको देशको नागरिकता वा राहदानी, पुरानो प्रमाणपत्रको सक्कल प्रति र सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्नेछ । सक्कल प्रति उपलब्ध नभए त्यसको प्रतिलिपि बुझाउन सकिनेछ ।

नियमावलीअनुसार नेपाली नागरिकताको प्रतिलिपि लिन अनुसूची–१६ र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन अनुसूची–१७ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?