अन्नपूर्ण क्षेत्रमा अक्टुबरमा भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक

लोकपथ
0
Shares

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत अक्टुबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ४ हजार ६८२ ले बढी हो ।

गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबर र नोभेम्बरमा पर्यटकको सङ्ख्या बढ्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए ।

उनका अनुसार अक्टुबरमा आएका कुल पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ जना रहेका छन् भने बाँकी अन्य देशका पर्यटक हुन् ।

सन् २०२६ सुरु भएयता सबैभन्दा बढी पर्यटक गत जुन महिनामा अन्नपूर्ण क्षेत्रमा आएका थिए । उक्त महिनामा एक लाख ८ हजार ७०३ जना विदेशी पर्यटकले क्षेत्रको भ्रमण गरेका थिए । त्यस्तै, सबैभन्दा कम पर्यटक जनवरीमा आएका थिए । जनवरीमा २० हजार ६३ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएको डा. कडरियाले जानकारी दिए ।

‘अक्टुबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यस समयमा पर्यटकको सङ्ख्या बढ्ने गर्छ,’ उनले भने ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग हुँदै बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पनि अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन् ।

अन्नपूर्ण क्षेत्र पदयात्रा गर्न रुचाउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीलगायत पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल हुने गरेको छ ।

७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र संस्कृतिका कारण प्रसिद्ध छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा यस संरक्षण क्षेत्रमा समेटिएका छन् ।

यी जिल्लाका विभिन्न स्थानबाट पर्यटकले छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सक्ने भएकाले अन्नपूर्ण क्षेत्र लोकप्रिय गन्तव्यका रूपमा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?