बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

लोकपथ
0
Shares

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन् ।

सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजे पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए ।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ ।

यसैबीच, इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी ६ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

आईआरजीसीले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ ।

इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बन्दै गएको छ । युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ । यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो । तर, अमेरिकी सेनाले आफ्नो क्षेत्रमा लक्षित दुईवटा इरानी ड्रोन खसालेको जनाएको थियो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड ९सेन्टकम० ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको स्पष्ट पारेको थियो ।

खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?