के शेख हसिनालाई बंगलादेशले सहजै फिर्ता हुन देला ?

लोकपथ
0
Shares

काठमाडौं । बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्व प्रधानमन्त्री घर फर्कन चाहेमा उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ ।

बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उनको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ ।

पूर्व प्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गरेकी छन् ।

उनीविरूद्ध सन् २०२४ मा प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोपमा मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ ।

गृहमन्त्री सलाउद्दिन अहमदले सोमबार पत्रकारहरूसँग भने, ‘बङ्गलादेशका अधिकारीहरू हसिनाको नयाँ पासपोर्टको अनुरोधलाई हेरिरहेका छन्, ‘उहाँ विदेशमा शरण लिएकी दोषी ठहरिएकी अपराधी हुनुहुन्छ । आवेदनको कानुनी आधार, प्रक्रिया पूरा भएको छ कि छैन, र पासपोर्ट माग्ने अधिकार छ कि छैन । सबै विषय समीक्षा भइरहेका छन् ।’

‘हामीले त्यो देश (भारत) लाई उचित प्रक्रियाअनुसार उहाँको प्रत्यर्पण माग्दै पत्र पठाइसकेका छौँ,’ उनले अगाडि भनेका छन् ।

हसिनाले पटकपटक फर्किने इच्छा व्यक्त गर्दै आइरहेकी छन् । उनले एएफपीलाई इमेलमार्फत दिएको जानकारीमा फाँसीको सजाय सामना गर्नुपर्ने कुराबारे आफूलाई अवगत रहेको बताएकी छन् ।

हसिनाका बेलायती वकिलहरूले उनको पासपोर्ट ‘खारेज भएको रिपोर्ट’ पछि कागजात नवीकरणको अनुरोध गरेका छन् । म्याट्रिक्स चेम्बर्स नामक कानुनी फर्मको पत्र बङ्गलादेशको नयाँदिल्लीस्थित उच्च आयोगलाई सम्बोधन गरिएको छ ।

एएफपीले देखेको उक्त पत्रमा पासपोर्ट नवीकरण मागिएको छ, तर कहिले वा कहाँ यात्रा गर्ने भन्ने उल्लेख छैन।

‘राजनीतिक स्टन्ट’

सन् २०२५ नोभेम्बरमा हसिनालाई मृत्युदण्ड सुनाउने अदालतका मुख्य अभियोजक एमडी अमिनुल इस्लामले यो आवेदनलाई ‘राजनीतिक स्टन्ट मात्र’ भएको बताउँदै यसको कुनै महत्त्व नहुने बताएका छन् ।

बङ्गलादेशका कनिष्ठ परराष्ट्रमन्त्री हुमायुन कोबिरले भने, ‘उहाँले न्यायको सामना गर्न आफैं आत्मसमर्पण गर्नुपर्छ । बङ्गलादेश र भारतबीच प्रत्यर्पण सन्धि छ । उहाँले भारतलाई आफूलाई सुम्पन भन्नुपर्छ र धेरै निर्दोष नागरिक मारेकोमा सजाय भोग्न तयार हुनुपर्छ ।’

उनले भनेका छन्, ‘उहाँ भागेर विदेशी भूमिमा गएकी एक पूर्व शासक हुनुहुन्छ । उहाँको फर्किने प्रक्रिया फरक हुन्छ ।’

हसिना सन् २०२४ मा देशमा आन्दोलन व्यापक भई असुरक्षा महशुस गरी हेलिकप्टरमा आफ्ना निकट सहयोगीसहित पुरानो सहयोगी भारतको दिल्लीका लागि प्रस्थान गरेकी थिइन् ।

त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् तर टेलिफोनमार्फत अनलाइन समाचार सम्मेलनमा सहभागी हुँदै आएकी छन् । पूर्व प्रधानमन्त्री हसिनालाई उनको अनुपस्थितिमै दोषी ठहर गीरएको र सजाय सुनाइएको थियो ।

भारतमा उनको निरन्तर उपस्थितिले ढाका र नयाँदिल्लीबीचको सम्बन्धमा तनाव बढाएको छ । भारतले प्रत्यर्पण अनुरोध कानुनी समीक्षामा रहेको बताएको छ ।

फेब्रुअरीमा भएको निर्वाचनमा हसिनाको आवामी लिगलाई प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो । त्यस चुनावमा विजयी तारिक रहमानको सरकारले बङ्गलादेशकी पूर्व नेता हसिना फर्किएमा उनको विरुद्धका सबै मुद्दामा उचित कानुनी प्रक्रिया सुनिश्चित गरिने जनाएको छ ।

हसिनाको फर्किने प्रतिज्ञाले रहमान सरकारका लागि राजनीतिक चुनौती सिर्जना गरेको छ । नयाँ सत्ता समर्थक धेरै बंगलादेशी उनलाई फाँसी दिइनुपर्ने बताउँछन् भने केही उनको फिर्तीले उनका पूर्व समर्थकहरूलाई उत्साहित गर्न सक्छ र विरोधी खेमाहरूबीच नयाँ झडप सुरु हुन सक्छ भन्ने डर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?