कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् । नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकाले आज अरुले शपथ लिन लागेका हुन् ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिएका छन् ।

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशनअन्तर्गत उद्घाटन र बन्दसत्र खुल्लामञ्चमा भएको थियो भने मतदान खुल्ला मञ्च र राष्ट्रिय सभागृहमा भएको थियो ।

महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यहीदिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको सदस्य सचिव कटुवालले जानकारी दिए ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए ।

त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) सहित समावेशी र प्राज्ञिक चरित्रको बलियो कार्यसमिति चयन भएको छ ।

शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ । पहिलो बैठकले ऐतिहासिक महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने जनाइएको छ । वैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरुका बारेमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?