बस्ती नजिकै पाटेबाघ देखिएपछि धपाउन दुई हात्ती परिचालन

लोकपथ
28
Shares

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा बस्ती नजिकै पाटेबाघ देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन दुई वटा हात्ती परिचालन गरेको छ ।

विगत चार–पाँच दिनदेखि उक्त क्षेत्रमा पाटेबाघ देखिन थालेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए ।

उनका अनुसार बाघको गतिविधि निगरानी गर्न उक्त क्षेत्रमा क्यामेरा जडान गरिएको थियो । शनिबार राति पनि क्यामेरामा बाघ देखिएपछि आइतबार निकुञ्जबाट दुई वटा हात्ती परिचालन गरिएको हो ।

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोस्टबाट परिचालन गरिएका हात्तीको सहायताले बाघलाई बस्ती आसपासको क्षेत्रबाट जंगलतर्फ धपाउने प्रयास भइरहेको चौधरीले बताए ।

बाघ नियन्त्रण तथा निगरानीका लागि हात्तीसँगै बेल्डाडी पोस्टबाट खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारी पनि परिचालन गरिएको छ ।

‘पाटेबाघ उखुबारीमा रहेको भन्ने खबर पनि आएको छ,’ रेञ्जर चौधरीले भने, ‘उक्त क्षेत्रमा आवतजावत गर्ने स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ ।’

बस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?