काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ भने एक एक पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।
साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको आक्रमणमा मानवीय क्षति भएको साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा बुधबार बिहान ड्रोन आक्रमण भएको र यो घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको र एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएको उल्लेख छ ।
यद्यपि, घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो ।
आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ ।
घटनालगत्तै सम्बन्धित निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया