काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विमोचित उक्त पुस्तकले मधेशको सीमान्तकृत डोम समुदायको जीवनशैली, जात व्यवस्थाको जरो र त्यहाँ व्याप्त गहिरो सामाजिक विभेदलाई जीवन्त रूपमा चित्रण गरेको छ ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै लेखक सापकोटाले आफू एउटा पत्रकारका रूपमा समाजका विकृति र विभेदलाई उजागर गर्न लागिपरेको बताए । उनले मधेशमा अझै पनि विद्यमान जातीय छुवाछुत र लैङ्गिक विभेदका दर्दनाक उदाहरणहरू पेश गर्दै सत्ता र मुख्यधारका सञ्चार माध्यमले यी मुद्दाहरूलाई उपेक्षा गरिरहेको टिप्पणी गरे ।
सापकोटाले रौतहटको दलित बस्तीको अनुभव सुनाउँदै भने, ‘शौचालय भएपनि महिलाहरू पुरुषहरूको प्रयोगपछि त्यसलाई उपयोग गर्न नपाउने विवशता र उपल्लो जातको बस्तीबाट आफ्नो बस्ती नदेखियोस् भनेर गरिने घेराबन्दी जस्ता घटनाले मधेशको वास्तविक मनोविज्ञान छर्लङ्ग पार्छ ।’
उनले प्रविधिको विकास र एआईको जमानामा समेत समाजको यस्तो असमानताको तथ्याङ्क प्रशोधन गर्न प्रविधि असफल रहेको भन्दै दुखेसो पोखे ।
लेखकका अनुसार ‘मगनी मरिक’ केवल एक पुस्तक नभई राज्यले केवल जनगणनाको एउटा अङ्क र निर्वाचनको मतपत्रका रूपमा मात्रै बुझेको सीमान्तकृत समुदायको आवाज हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया