काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको छ ।
पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो ।
गत भदौ १० मा भोटेकोशी नदीमा आएको भिषण बाढीले फलाकु खोलास्थित पुल बगाउँदा डेढ महिनादेखि नुवाकोट–रसुवाको सिधा सम्पर्क टुटेको थियो ।
लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए ।
अब भने रसुवा हुँदै नुवाकोट र गल्छी–त्रिशूली सडकखण्डबाट आवतजावतका लागि थप सहजता देखिएको छ ।
आज बिहान ११ बजेबाट पुलको उद्घाटन गर्दै यातायातका साधनहरूलाई आवतजावतका लागि अनुमति दिइएको हो ।
पुल सञ्चालनमा आएसँगै उक्त मार्ग हुँदै हुने दैनिक उपभोग्य वस्तुको ढुवानी तथा जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ ।
अवरुद्ध सडक खण्ड पुनः सञ्चालनमा आएसँगै स्थानीयहरूले राहतको महशुस गरेका छन् ।
नेपाली सेनाको मुख्य भूमिका र सडक विभागको सहयोगमा निर्माण भएको उक्त पुल गत असोज २० गतेबाट निर्माण सुरु गरिएको थियो । ५ दिनको मेहनतमा आइतबार सम्पन्न भएको उक्त पुलको लम्बाई ७३ दशमलव ३ मिटर रहेको छ भने पुलको चौडाई ५ दशमलव ५ मिटर रहेको छ ।
यसैगरी अधिकतम भारबहन क्षमता ४० टन रहेको छ ।
चीनको केरुङ हुँदै रसुवागढी–स्याफ्रुबेसी–धुन्चे हुँदै बेत्रावतीबाट नुवाकोट जोड्ने बेत्रावती पुल नहुँदा ठूलो समस्या परेको थियो ।
त्यसो त भदौ १० को भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको देविघाटमा यसअघि नै नेपाली सेनाले बेलिब्रिज निर्माण गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया