यस्तो छ चाडपर्व लक्षित सशस्त्र प्रहरीको विशेष सुरक्षा योजना

लोकपथ
77
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तयार गरी देशभर लागू गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीका अनुसार सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी सशस्त्र प्रहरी बल, नेपालले २८ हजार १ सय २६ जनशक्ति परिचालित गरेको छ भने ४ हजार ५ सय जनशक्ति युनिटमा तत्काल खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ ।

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन आवश्यक स्रोतसाधन र प्रविधिसहित सुरक्षा तैनाथी बढाइएको सशस्त्रले जनाएको छ । देशभरका सशस्त्र प्रहरी बल नेपालका इकाईहरूले सीमा इलाकामा हुन सक्ने सीमा अपराधलाई न्यूनीकरण गर्दै नेपाली नागरिक एवं नेपाल प्रवेश गर्ने पर्यटकहरूको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाइएको छ ।


त्यस्तै जुनसुकै प्रकारको विपदमा परेका सेवाग्राहीहरूको उद्धार कार्यमा सहयोग पु¥याउन भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायहरूसँगको समन्वय र सहकार्यमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ । समकक्षी सुरक्षा निकायहरूसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती समेत सञ्चालन भइरहेको छ ।
झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त स्निफिङ डगसमेत परिचालन गरिएको छ ।

त्यसैगरी दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वहरूमा हुनसक्ने आपराधिक क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रणका साथै मुख्य राजमार्गमा हुनसक्ने घटना तथा दुर्घटनाहरू न्यूनीकरण र समयमै उद्धार गर्न सक्नेगरी ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ । चाडबाडको समयमा हुनसक्ने ठूलो दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो संख्यामा घाइते बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकलसमेत सातै प्रदेश र उपत्यकामा गरी १६ स्थानमा तैनाथ गरिएको छ ।

प्राकृतिक तथा मानवसृजित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट लगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेश तथा १६ वटा स्थायी विपद् बेशहरूमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक ४१५ स्थानमा पिकेट, ४१८ स्थानमा चेक प्वाइन्ट, ६०१ वटा पैदल गस्ती, ५५५ वटा मोबाइल गस्ती, १८२ वटा लामो दुरीको गस्ती, १४६ वटा क्यु.आर.टी., १४ वटा बम डिस्पोजल टिम, ३७ वटा एम्बुलेन्स, २५१ वटा विपद् उद्धार टिम र ११ स्थानमा गोताखोर टोली २४सै घण्टा तैनाथ रहने छन् ।

सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी दैनिक सीमा नाका पिकेट ५०४ वटा, सीमा लिङ्क पेट्रोल ४२ वटा एवं बोर्डर इन्ट¥याक्सन टिम ६ वटा परिचालन गरिएको छ भने चाडपर्व अवधिभर आवश्यकताको आधारमा समकक्षीसँग ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना समेत रहेको छ ।

सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी संवेदनशील स्थानहरूको सुरक्षा निगरानीका लागि आवश्यकता अनुसार २१ वटा ड्रोन परिचालन गरिएको छ भने सीमा नाकाहरूका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ सीसीटिभी क्यामेरा मार्फत प्रधान कार्यालय, बाहिनी, गण तथा सम्बन्धित युनिटहरूबाट २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी समग्र सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन ड्युटी टोली खटाइने भएको छ । साथै आपत् विपदमा परेका नागरिकहरूले सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ र सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?